तार व्यवस्थापन एकैपटकमा गर्न कठिनाई छ : दूरसञ्चार प्राधिकरण

तार व्यवस्थापन एकैपटकमा गर्न कठिनाई छ : दूरसञ्चार प्राधिकरण

कहिरन समाचार

काठमाडौ । नेपाल दूरसञ्चार प्राधिकरणले दशकौदेखि टाँगीएका र सेवा प्रवाह भइरहेका तारहरू एकै पटक व्यवस्थापन गर्न गाह्रो हुने बताएको छ ।

प्राधिकरणले शनिबार विज्ञप्ति जारी गरी संचार सेवा अवरुद्ध नहुने गरी तारको व्यवस्थापन गर्न काम अगाडी बढाइसकेको पनि जनाएको छ । दीर्घकालीन रुपमा तार लगायत अन्य युटिलिटीको व्यवस्थापन गर्न सडक निर्माण हुँदा युटिलिटी डक्टको व्यवस्था गर्न आवश्यक कानुन निर्माण भईरहेको प्राधिकरणले जानकारी दिएको छ ।

दूरसंचार पूर्वाधार सेवा प्रदायकको व्यवस्था गर्न नेपाल सरकारलाइ यस अगाडिनै सिफारिस भई नियमावली पारित हुने अन्तिम चरणमा रहेकोले अव्यवस्थित तारको व्यवस्थान हुनुको साथै दोहोरो लगानीको समेत अन्त्य हुने कार्य भईरहकेको विज्ञप्तिमा उल्लेख छ ।

‘अव्यवस्थित रुपमा रहेको तारलाई अल्पकालीनरुपमा व्यवस्थापन गर्ने क्रमममा महानगरपालिका, इन्टरनेट सेवा प्रदायक संघ नेपाल र प्राधिकरण समेतको सहकार्यमा सिंहदरवार वरिपरी, पुतलीसडक, कमलादी, ठमेल, एयरपोर्ट, माइतीघर लगायत पाटन दरवार क्षेत्रको प्रयोगमा नरहेको तार हटाई बंडलिंग गरिएको छ,’ प्राधिकरणले बताएको छ ।

प्राथमिकताको आधारमा अन्य रुटमा समेत योजना बनाई तार व्यवस्थापन गर्ने कार्यलाई निरन्तरता दिइने प्राधिकरणले जानकारी दिएको छ ।

त्यसैगरी, इन्टरनेट सेवा अतिआवश्यक सेवा भएको र यसको पूर्वाधारमा क्षति पुग्न जादा बैंक, हवाईसेवा, नेपाल सरकारबाट नागरिक लक्षित गरी प्रदान गर्दै आएका अनलाइन सेवा अवरुद्ध हुन जाने पनि बताएको छ । यसको पूर्वाधारमा क्षति पुर्याउने कार्य दूरसंचार ऐन, २०५३ अनुसार दण्डनीय समेत हुने प्रस्ट पारेको छ ।

पूर्वाधारमा क्षति पुग्ने कार्य नगर्नर नगराउन तथा यसको व्यवस्थापन कार्यमा सेवा प्रदायक र प्राधिकरणबाट भइरहेको कार्यलाई सहयोग गर्न प्राधिकरणले अनुरोध गरेको छ ।

पछिल्लो समय काठमाडौँ महानगर र ललितपुर महानगरले अव्यवस्थित इन्टरनेट सेवा प्रदायकका तारहरू हटाउन सूचना जारी गरिसकेको छ । अटेर गर्ने कम्पनीको तारहरू महानगरले आफैँ हटाउन थालेको छ । केही दिन अघि काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले अव्यस्थित तारलाई व्यस्थित गरेर मात्र सुन्दर सहर बनाउन सकिने बताएका थिए ।