अर्थतन्त्रमा तत्काल सुधारको कार्य थाल्न सरकारलाई आग्रह

अर्थतन्त्रमा तत्काल सुधारको कार्य थाल्न सरकारलाई आग्रह

कहिरन समाचार

काठमाडौं । अर्थतन्त्रमा तत्काल सुधारको कार्य नथाने मन्दी लम्बिदै जाने उद्योगी व्यवसायीले बताएका छन् । नेपाल उद्योग बाणिज्य महासंघले आज विज्ञप्ति प्रकाशित गरी मुलुकको अर्थतन्त्रप्रति गम्भीर चिन्ता प्रकट गरेको हो ।

पुराना ऋणीहरुले साँवाब्याज भुक्तानी गर्न नसक्दा बैंकहरुको खराब कर्जा समेत करिब चार प्रतिशत पुगिसकेको भन्दै उद्योगी व्यवसायीले कर्जाको पुर्नसंरचना एवं पुर्नतालिकीकरणको सुविधा दिनुपर्ने माग गरेका छन् ।

नौ महिना यता लगातार सात प्रतिशतभन्दा बढि मुल्यवृद्धिदर रहँदै आएकाले आम उपभोक्ताको क्रयशक्ति क्रमशः घटिरहेको छ । निजी क्षेत्रले निर्वाध काम गर्न नपाउँदा सरकार र आम उपभोक्ता समेत संगसंगै प्रभावित भैरहेकोले सम्वेदनशीलताका लागि महासंघले आग्रह गरेको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयद्धारा सार्वजनिक राष्ट्रिय लेखा तथ्यांकले बजारमा लामो समयदेखि विद्यमान मन्दीलाई प्रतिविम्वित गरेको महासंघले जनाएको छ । यस बर्ष १.८६ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण कार्यालयले गरेको छ ।

यससंगै पछिल्ला तीन त्रैमासमा अर्थतन्त्र ऋणात्मक रहनुले अर्थतन्त्रमा मन्दीको अवस्था देखाएको महासंघले उल्लेख गरेको छ । सरकारलाई अनावश्यक खर्च कटौति गरि पूँजीगत खर्च बढाउन महासंघले आग्रह गरेको छ ।