गण्डकीका मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत

गण्डकीका मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत

कहिरन समाचार

काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सभाबाट विश्वासको मत पाएका छन् । गण्डकी प्रदेश सभाको बिहीबारको बैठकमा मुख्यमन्त्री पाण्डेले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा ३५ मत परेको थियो ।

उनलाई नेपाली कांग्रेसका २७, नेकपा (माओवादी केन्द्र) का सात र नेकपा (एकीकृत समाजवादी) सांसदले मत दिएका हुन् । विपक्षमा नेकपा (एमाले)का २२, राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई जना प्रदेश सभा सदस्य तटस्थ बसेका थिए । उनी यही वैशाख १४ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।

विश्वासको मत पाएसँगै पत्रकारसँगको भेटघाटमा मुख्यमन्त्री पाण्डेले अब सरकारका काम तीव्र रूपमा अघि बढ्ने बताए । मन्त्रिपरिषद्लाई चाँडै नै पूर्णता दिने जनाउँदै उनले यस सम्बन्धमा गठबन्धनका दलबीच छलफल भइरहेको बताए । सरकारका तर्फबाट आगामी नीति तथा कार्यक्रमको गृहकार्य भइरहेको उनको भनाइ थियो ।

त्यस्तै, मुख्यमन्त्री पाण्डेले पछिल्लो समयमा अल्पमतको कामचलाउ सरकार भइसकेपछि केही योजनालाई बढाएको पाइएको बताए । ती योजना आवश्यकताका आधारमा या राजनीतिक आग्रहका आधारमा बढाइएको सम्बन्धमा पुनर्विचार गरिने उनले बताए ।