हिमपातले सगरमाथा आधारशिविरमै रोकिए आरोही

हिमपातले सगरमाथा आधारशिविरमै रोकिए आरोही

कहिरन समाचार

काठमाडौँ । सगरमाथा क्षेत्रमा लगातार हिमपात भएपछि ४०० भन्दा बढी आरोही आधारशिविरमै रोकिएका छन् ।

मौसम अनुकूल भइदिएको भए आजकै दिन सगरमाथाको चुचुरोमा पुग्ने बाटो खुलिसक्थ्यो । पूर्व निर्धारित तालिका अनुसार आज सगरमाथाको चुचुरोसम्म डोरी टाँग्ने (रोप फिक्सिङ) गर्ने योजना थियो । तर, एक सातादेखि बिग्रिएको मौसमले सगरमाथा आरोहणमा समेत अवरोध पुगेको छ ।

सगरमाथा आरोहणका लागि दक्ष कामदार (आइसफल डाक्टर)ले सगरमाथाको साउथकोल (चौथो शिविर)सम्म बाटो बनाइसकेका छन् । उनीहरूले चुचुरोसम्म डोरी टाँगेपछि मात्र आरोहण शुरू हुन्छ । प्रतिकूल मौसमका कारण आइसफल डाक्टरलाई चुचुरोसम्म पुग्न कठिन भइरहेको सगरमाथाको दोस्रो शिविरमाथिको बाटो बनाउने जिम्मा पाएको इमाजिन नेपाल ट्रेक एन्ड एक्स्पिडिशन कम्पनीले जनाएको छ ।

सगरमाथा आरोहणको ढोका खुलाउने प्रतीक्षामा रहेका आइसफल डाक्टर जस्तै आरोहणको अनुकूल मौसमका लागि नेपाली र विदेशी गरी ४०० भन्दा बढी आरोही प्रतीक्षारत छन् । उनीहरू सगरमाथाको आधारशिविर र दोस्रो शिविरमा सुखद आरोहणको पर्खाइमा छन् ।

चुचुरोसम्म बाटो बनाउने आइसफल डाक्टर पनि अनुकूल मौसमको पर्खाइमा आधारशिविरमा छन् । मौसमले साथ दिए छिटै उनीहरूले सगरमाथाको चुचुरोसम्म डोरी टाँगेर आरोहण शुरू भएको सन्देश दिने इमाजिन नेपालका कार्यकारी निर्देशक दावा ग्याल्जेन शेर्पाले बताए । “शुरूमा आजसम्म डोरी टाँग्ने लक्ष्य थियो, मौसमको प्रतिकूलताले त्यो अहिले रद्द भइसकेको छ,” उनले भने, “मौसम विवरण अनुसार शनिबार र आइतबार मौसम राम्रो देखाएकाले शायद आरोहण निरन्तर अघि बढ्छ होला ।”

अहिलेको मौसममा सगरमाथा क्षेत्रमा प्रतिघन्टा ३५ देखि ४० किलोमिटर हावाको वेग चलेकाले आरोहणमा कठिनाइ भएको हो । हावाका साथै हिमपात भइरहेको छ । आरोही केही सगरमाथा आधारशिविरमा छन् भने केही काठमाडौं फर्किएका छन् । अहिलेको मौसममा आरोहण गर्दा जोखिम हुने भएकाले सबै आरोही अनुकूल मौसमको पर्खाइमा छन् ।

पर्यटन विभागका महानिर्देशक होमप्रसाद लुइँटेलले धेरै आरोही सगरमाथा आधारशिविरमा अनुकूल मौसमको प्रतीक्षामा रहेको बताए । “उपयुक्त मौसमको पर्खाइमा रहेका आरोही दोस्रो र तेस्रो शिविरसम्म पुग्दै पुनः आधारशिविर फर्किरहेका छन्,” उनले भने, “मौसम खुलेपछि सबै आरोहीका कारण सगरमाथा क्षेत्रमा जाम हुन्छ ।”

आरोहणलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन विभागले सगरमाथा आधारशिविरमा अनुगमन तथा सहजीकरणका लागि सम्पर्क कार्यालय स्थापना गरेको छ । खिमलाल गौतमको संयोजकत्वमा सम्पर्क अधिकृत, पर्यटन मन्त्रालय, विभाग, नेपाली सेना, नेपाल प्रहरी, हिमालय उद्धार संघ, सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) र स्थानीय प्रतिनिधिहरू रहेको समितिले सम्पर्क कार्यालयमा रहेर सहजीकरण गरिरहेको विभागले जनाएको छ ।

सगरमाथाको दोस्रो शिविरसम्म एसपीसीसीले बाटो बनाएको थियो । पछिल्लो एक सातादेखि सगरमाथा क्षेत्रमा मौसमको खराबीले बाक्लो हिउँ पर्नुका साथै हावा चलिरहेकाले आरोहण अघि बढ्न सकेको छैन । आइसफल डाक्टरहरू सगरमाथाको आधारशिविरमा फर्किएका छन् । मौसम अनुकूल हुने बित्तिकै चुचुरोसम्म डोरी टाँग्ने काम शुरू हुने निर्देशक शेर्पाले बताए । साउथकोलबाट चुचुरोसम्म बाटो खुलाउन झन्डै एक दिनको समय लाग्ने उनको भनाइ छ ।

लुक्लामा रहेका सेभेन समिट ट्रेक्सका प्रबन्ध निर्देशक मिङ्मा शेर्पाका अनुसार अहिले धेरै सङ्ख्यामा आरोही सगरमाथाको आधारशिविरमा छन् । सगरमाथा क्षेत्रमा मौसम बिग्रिएका कारण आफूहरू लुक्लामा आराम गरिरहेको शेर्पाले बताए । शेर्पाको कम्पनीबाट मात्रै ८० भन्दा बढी आरोही छन् । आधारशिविरमा रहेका आरोही दोस्रो र तेस्रो शिविरसम्म ओहोरदोहोर गरिरहेका भए पनि पछिल्ला दिनमा मौसम बिग्रिएकाले उनीहरू आधारशिविर ओर्लिएका हुन् ।

वसन्त ऋतुको यस याममा सगरमाथा आरोहण गर्न इतिहासकै सर्वाधिक आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार ४३ आरोही समूहका ४६६ आरोहीले आरोहण अनुमति लिएका हुन् । उनीहरूमध्ये ९८ महिला र ३६८ पुरुष छन् । सगरमाथा आरोहणको ७० वर्षे लामो इतिहासमा यो यामको आरोहणमा सबैभन्दा बढी आरोही छन् ।

सगरमाथा आरोहणका लागि सन् २०२२ मा ४४ समूहका ३२३ र सन् २०२१ मा ४२ समूहका ४०९ जनाले अनुमति लिएको विभागको पर्वतारोहण शाखाका शाखा अधिकृत विज्ञान कोइरालाले बताए ।

हिमाल आरोहणका लागि वसन्त ऋतु उपयुक्त समय मानिन्छ। नेपाल पर्वतारोहण संघका पूर्व अध्यक्ष आङछिरिङ शेर्पाका अनुसार नेपालतर्फबाट सगरमाथा आरोहण गर्ने हालसम्मकै बढी आरोहीले अनुमति लिएका हुन् । सगरमाथाको उत्तरी मोहोडाबाट पनि चुचुरोमा पुग्न सकिन्छ। कोरोना महामारीपछि तिब्बतबाट आरोहण रोकिएकाले अहिले नेपालमा आरोहीको सङ्ख्या बढेको हुन सक्ने अध्यक्ष शेर्पाको भनाइ छ ।

पर्यटन विभागको विवरणमा हालसम्म सगरमाथा आरोहणमा नेपाल सहित ६५ देशका नागरिकले अनुमति लिएका छन् । सन् १९५३ मे २९ तारिखका दिन दुई साहसी पर्वतारोही नेपाली तेन्जिङ नोर्गे शेर्पा र न्यूजिल्यान्डका सर एडमन्ड हिलरी सगरमाथाको चुचुरोमा पुगेका थिए ।