‘सरकारले उद्यमशिलता र स्वरोजगारमा जोड दिनुपर्छ’

‘सरकारले उद्यमशिलता र स्वरोजगारमा जोड दिनुपर्छ’

कहिरन समाचार

काठमाडौं । सरकारले उद्यमशिलता र स्वरोजगार सिर्जना गर्नमा जोड दिनुपर्ने सरोकारवालाहरुले बताएका छन् । मिडिया इन्टरनेशलले मंगलबार काठमाडौंमा आयोजना गरेको अन्तक्रियामा सहभागीहरुले सो कुरामा जोड दिएका हुन् ।

कार्यक्रममा युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कार्यकारी निर्देशक विश्वमोहन अधिकारीले कार्यपत्र प्रस्तुत गर्दै संस्थाले युवासँग सम्बन्धित नीति तथा कार्यक्रमहरुमा केन्द्रित भएर काम गर्दै आएको बताए । युवाहरुका लागि कोषले विना धितो कर्जा उपलव्ध गराउने र ऋणीहरुलाई व्याज अनुदान समेत दिँदै आएको बताए । स्रोत र साधन कम भएको कारण कोषले वर्षमा १२ हजार युवाहरुलाई मात्रै स्वरोजगार बनाएको उनको भनाइ छ ।

उनले भने, ‘देशमा बढ्दै गएको बेरोजगार, वैदेशिक रोजगारको खोजीमा विदेसिएका युवा, आयातमुखी अर्थतन्त्र आदिलाई सम्बोधन गर्न सरकारले स्थानीय स्रोत–साधनको समुचित प्रयोग हुने गरी देशमा उपलब्ध जनशक्तिद्वारा स्वरोजगारमूलक व्यावसायिक परियोजना सञ्चालन गर्न स्थानीयस्तरमा सुलभ र सुरक्षित व्यावसायिक कर्जा उपलब्ध गराउनुपर्छ । साथै, उद्यमशीलताको विकासमार्फत देशभित्र स्वरोजगारका अवसर सिर्जना गर्न ‘युवा तथा साना व्यवसायी स्वरोजगार कोष सञ्चालन नियमावलीअन्तर्गत युवा तथा साना व्यवसायी स्वरोजगार कोषको स्थापना गरेको हो । यही अनुसार हामीले काम गरिरहेका छौं ।’

कोषले कृषिमा आवद्ध महिला र दुर्गम क्षेत्रलाई प्राथमिकता दिँदै आएको उनको भनाइ छ । उनले अहिले १२ कक्षा पास गर्ने वित्तिकै आफ्ना छोराछोरीलाई विदेश पठाउने संस्कारको विकास भएको भन्दै यसलाई परिवर्तन गर्न आवश्यक रहेको बताए ।

लघुवित्त बैंकस संघका महासचिव एवम् नेशनल माइक्रोफाइनान्सका सिईओ रामबहादुर यादवले नेपालमा हाल रहेका ६२ वटा लघुवित्तबाट ३३ लाखले वित्तीय स्रोत पाएर व्यवसायमा लागेको बताए । ग्रामीण अर्थतन्त्र विकासका लागि सहकारी र लघुवित्तको विकल्प नभएको उनको भनाइ छ । लघुवित्तले फाइनान्सियल लिट्रेसीलाई व्यापक रुपमा अगाडि बढाएको भन्दै लघुवित्तप्रतिको धारणा परिवर्तन गर्न आवश्यक रहेको बताए ।

रोजगारी, उत्पादन र देशको अर्थतन्त्रलाई बढाउन कृषि क्षेत्र नै मुख्य आधार रहेको उनले बताए । ६६ प्रतिशत जनसंख्या कृषिमा संलग्न रहेको भन्दै उनले कृषिबाटै कसरी व्यवसायीकरण गर्ने भन्नेमा राज्यले ध्यान दिनुपर्ने बताए । व्यवसायीकरणका लागि टेक्निकल सर्पोट चाहिने भन्दै उनले उत्पादन गरेको बस्तुलाई बजारसम्म पुर्याउन सहजीकरण गर्नुपर्नै बताए । त्यसका लागि स्थानीय सरकार, केन्द्रीय र प्रदेश सरकारको पनि साथ र सहयोगको खाँचो रहेको उनले बताए ।

राष्ट्रिय व्यापार संघका महासचिव बैकुण्ठ दाहालले काठमाडौंको व्यस्त व्यापारिक केन्द्र न्यूरोडका ठूला घरानाको व्यापार फस्टाए पनि साना व्यवसायीहरु भने समस्यामा परेको बताए । उनले भने, ‘न्यूरोड लगायत देशभरका साना व्यवसायीको अवस्था नाजुक छ । उनीहरुलाई अहिले बैंक वित्तले न ऋण पत्याएका छन्, न ऋणको व्याज नै तिर्न सक्ने अवस्थामा छन् ।’ उनले विदेशबाट फर्किएका युवाहरुलाई स्वरोजगार बनाउनुपर्ने बताए ।

नेपाल एग्रो लाइभका कार्यकारी प्रमुख राजन गैरेले कार्यपत्र प्रस्तुत गर्दै अबका दिनमा कृषकहरु स्मार्ट कृषितर्फ लाग्नुपर्ने बताए । जलवायु परिवर्तन अनुकुलन प्रविधि प्रयोग गरेर र बजारलाई हेरेर उत्पादन गर्नुपर्ने उनको जोड छ । सिमित जग्गामा धेरै उत्पादन गर्ने गरी कृषकहरु लाग्नुपर्ने गैरेले बताए । आफूहरुले बजार सहजीकरण र कृषक अभिमुखीकरण गर्दै आएको उनको भनाइ छ । कृषिले उत्पादन गरेर मात्रै बजारीकरण नहुने भन्दै उनले माग अनुसारको योजना बनाउन किसानलाई आग्रह समेत गरे ।

कार्यक्रमको सहजीकरण गर्दै मिडिया इन्टरनेशनलका अध्यक्ष माधव निर्दोषले संस्थाले विगतदेखि नै वित्तीय साक्षरता कार्यक्रम र युवा स्वरोजगार कार्यक्रमलाई सँगसँगै लगेको बताए । समृद्धिका पाइलाका लागि सबै लाग्नुपर्ने भन्दै उनले यसैबाट अर्थतन्त्र चलायमान हुने बताए ।