पशुआहारमा प्रयोग हुने दानाको मूल्य जेठदेखि घट्ने

पशुआहारमा प्रयोग हुने दानाको मूल्य जेठदेखि घट्ने

कहिरन समाचार

काठमाडौं । पशुलाई खुवाउने दानाको मूल्य जेठदेखि घट्ने भएको छ । कच्चा पर्दाथको अभावका कारण महंगिएको दानाको हाल सहज उपलब्धता भएकाले मूल्य घटाउने तयारी भइरहेको नेपाल दाना उद्योग संघका अध्यक्ष रविन पुरीले बताए ।

अबको दुई सातामा सबै प्रकारका दानाको मूल्य घट्ने उनले जानकारी दिए । यसका लागि सबै दाना उद्योगी व्यवसायीहरुलाई सर्कुलर जारी गरिसकिएको उनको भनाई छ ।

हाल बजारमा नयाँ मकै प्रतिकेजी ३५ देखि ३६ रुपैयाँ र भटमासको पिना प्रतिकेजी ९५ रुपैयाँ छ । दाना बनाउन प्रयोग हुने मकै र पिना सस्तिएकाले दानाको मूल्य घटाउन किसानहरुले समेत माग राख्दै आएका छन् ।

नयाँ मूल्य समायोजनमा केही समय लागेपनि आगामी जेठसम्म समायोजन भैसक्ने उनले दाबी गरे । ‘दानाको मूल्य संघले निर्धारण गर्दैन । व्यवसायीहरुले नै आफै मूल्य घटाउने हो । नयाँ मकै राम्रो बजारमा आएपछि खरिद मूल्य र लागत खर्च हेरेरमात्र मूल्य घट्ने गरेको छ’, उनले भने ।

दाना उत्पादनको लागि मकै र भटमासको पिना भारत र तेस्रो मुलुकबाट आयात हुँदै आएको छ । स्वदेशी उत्पादन मकैले करिब २ देखि ३ महिनामात्र दाना उत्पादन गर्न पुग्ने व्यवसायीहरु बताउँछन् ।

अहिले दानाको उद्योग मूल्य प्रतिकेजी ४५ रुपैयाँ देखि ८० रुपैयाँसम्म पर्छ । बोराको साइज अनुसार फ्याक्ट्री मूल्य २७ सय देखि ३९ सय मूल्य पर्छ । हाल उपभोक्ताले विभिन्न किसिमका दानाको मूल्य ५० केजी बोराको ४२ सय रुपैयाँसम्म तिरेर किन्ने गरेको संघले जनाएको छ ।