सत्ता गठबन्धन बैठक बस्दै, रास्वपालाई भागवण्डा मिलाउने तयारी

सत्ता गठबन्धन बैठक बस्दै, रास्वपालाई भागवण्डा मिलाउने तयारी

कहिरन समाचार

काठमाडौं । सत्ता गठबन्धनमा आवद्ध प्रमुख दलहरुको बैठक आज बस्दैछ । बैठक दिउँसो साढे ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो ।

बैठकमा सरकारको नीति तथा कार्यक्रम, बजेट र सरकारलाई पूर्णता दिने लगायतका समसामयिक विषयमा छलफल गर्ने तयारी रहेको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।

पछिल्लो पटक प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपालाई साविककै मन्त्रालय दिएर सरकारमा ल्याउन पहल गरिरहेकाले आजको बैठकमा यस विषयमा पनि छलफल गर्ने तयारी छ ।

प्रधानमन्त्रीको सकारात्मक जवाफ पाएको रास्वपाले गठबन्धनको निर्णय पर्खिएको छ । समर्थन गरेर मात्रै नबस्ने भन्दै रास्वपाले पर्सि शुक्रबार बैठक बसेर सरकारमा जाने कि प्रतिपक्षमा बस्ने भन्नेबारे स्पष्ट निर्णय गर्ने बताएको छ ।

प्रधानमन्त्री प्रचण्डले आठ पटक मन्त्रिपरिषद् विस्तार गर्दा पनि अझै सरकारले पूर्णता पाउन सकेको छैन । कांग्रेसले आफ्नो भागमा परेका तीन जना मन्त्री अझै पठाएको छैन भने जसपाले पनि एकजनाको नाम दिन बाँकी छ । यहि मेसोमा रास्वपालाई पनि मन्त्रालय भागवण्डा मिलाउने तयारी प्रचण्डले गरेका हुन् ।

यसैगरी सरकारको नीति तथा कार्यक्रम र बजेटका विषयमा पनि गठबन्धन दलको बैठकमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । आगामी आर्थिक वर्षका लागि सरकारले जेठ १५ गते संसदमा बजेट पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।