बढ्दै साइबर अपराध, सचेत रहन प्रहरीको अनुरोध

बढ्दै साइबर अपराध, सचेत रहन प्रहरीको अनुरोध

कहिरन समाचार

काठमाडौं । नेपालमा पछिल्लो समय कुनैपनि ब्यक्ति साइबर अपराधका शिकार हुने अवस्था आएको भन्दै सचेत रहन नेपाल प्रहरी साइबर ब्युरोले अनुरोध गरेको छ ।

ब्युरोका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक नविन्द अर्यालले नयाँ ट्रेन्डका रुपमा महिला र बालबालिकाविरुद्ध डिजिटल हिंसा,समाजिक सन्जालमार्फत डेटिङ पोर्टल एप लगायतको दुरुपयोग र अनलाइनमा बालबालिकामाथि हुने हिंसाका घटना अत्यधिक बढेको जानकारी दिए ।

पछिल्लो ट्रेन्डका रुपमा विद्युतीय माध्यमसम्बद्ध साइबर ठगी अत्यधिक बढेको अर्यालको भनाई छ । समाजिक सन्जालका प्रयोगकर्ता द्रुततर रुपमा बढेपनि नेपालमा साइबर सुरक्षा र साइबर अपराधका विषयमा जागरुकता कम भएको कारण घट्ना बढि हुने गरेका उनको भनाई छ ।

डिजिटल साक्षरता र जागरुकताको कमिले गर्दा उनले ब्युरोमा साइबार अपराधका मात्रै एकैदिन ८ देखि ३२ वटा सम्म उजुरी पर्ने गरेको बताए । आम मानिसले आफुलाई समस्या परेमा साइबर अपराध भएको हो कि होइन भनेर बुझ्न नजिकको प्रहरी कार्यालयमा जान पनि उनले सझाब दिए ।

१६ गुणा बढ्यो साइबर अपराध
पछिल्लो पाँच वर्षमा साइबर ब्युरोमा निवेदन/उजुरीको तथ्यांक झण्डै १६ गुणा बढेका छ । साइबर ब्युरोमा आर्थिक वर्ष २०७५/०७६ मा अपराधका ३५७ वटा निवेदन परेका थिए । यो क्रम पाँचवर्षपछि हालको चालु आर्थिक वर्ष २०७९/८० सम्म आइपुग्दा १६ गुणाले बढेर ५ हजार ५ सय २८ को संख्यामा पुगेको ब्युरोका उपनिर्देशक तथा प्रहरी उपरीक्षक पशुपति कुमार रायले जानकारी दिए ।

उनका अनुसार गत पाँच आर्थिक वर्षमा प्रत्येक वर्ष अघिल्लो वर्षको तुलनामा एक हजारभन्दा बढी निवेदन आएको छ । ब्युरोको तथ्यांकअनुसार आर्थिक वर्ष २०७६/०७७ मा साइबर अपराधका २ हजार ३०१ निवेदन, आ.व. ०७७/०७८ मा ३ हजार ९०६ र गत आर्थिक वर्ष २०७८/०७९ मा ४ हजार ६ सय ८६ वटा निवेदन परेको छ ।

पीडितले दिएका यी निवेदनहरु सतहमा आएका अपराधका घटनाहरु हुन् । सामाजिक परिवेश, कानुनका अज्ञानताका कारण पनि कतिपय आपराधिक गतिविधिहरु प्रहरीसम्म पुगेको पाइँदैन ।

पाँच आर्थिक वर्षमा साइबर अपराधका चपेटामा ५ सय ४३ बालबालिका परेका छन् । जसमध्ये १५१ बालक र ३९२ बालिकाले सामाजिक सञ्जालमार्फत दुःख खेपेका छन् । त्यस्तै, ८ हजार ४ सय ४५ महिला, ६ हजार ९ सय २८ पुरुष र अन्य ६ सय ७२ जना साइबर आक्रमणबाट पीडित भएका छन् ।

चालु आर्थिक वर्षमा ब्युरोमा परेको ५ हजार ५२८ निवेदनमा ३० जना बालक, ९० बालिका, २ हजार ७०१ महिला, २ हजार ४ सय ४९ जना पुरुष र २ सय ५० जना लैंगिक तथा यौनिक अल्पसंख्यक व्यक्तिले सामाजिक सञ्जालबाट हैरानी ब्यहोरेका छन् ।

जसमध्ये अनुसन्धानका क्रममा अपराध पुष्टि भएपछि चालु आर्थिक वर्षमा ९० वटामा मुद्दा चलाईएको छ । गत पाँच आर्थिक वर्षमा ब्युरोमा परेको जम्मा निवेदन १६ हजार ७७८ मध्ये ३ सय ४८ वटा मात्रै मुद्दा दर्ता भएका छन् ।