नेपालको आर्थिक वृद्धिदर २.१६ प्रतिशतमा कायम रहने

नेपालको आर्थिक वृद्धिदर २.१६ प्रतिशतमा कायम रहने

कहिरन समाचार

काठमाडौं । नेपालको आर्थिक वृद्धिदर २.१६ प्रतिशत मात्रै रहने तथ्यांक विभागले प्रक्षेपण गरेको छ । विभागले मंगलबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा चालु आर्थिक वर्ष २०७९/८० को आर्थिक वृद्धिदर २.१६ प्रतिशतमा खुम्चिने अनुमान गरेको हो ।

यस वर्ष आधारभूत मूल्यमा मुलुकको आर्थिक वृद्धि जम्मा २.१६ प्रतिशतमा खुम्चिने, उपभोक्ता मूल्यमा १.८६ प्रतिशत आर्थिक वृद्धि रहने भन्दै विभागले नेपालको अर्थतन्त्रको आकार यो आर्थिक वर्षमा ५३ खर्ब ८१ अर्ब पुग्ने अनुमान गरेको छ ।

विभागको अनुमान एशियाली विकास बैंक र विश्व बैंकले गरेको अनुमानभन्दा कम हो । एडीबी र विश्व बैंकले सन् २०२२/२३ का लागि नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत रहने अनुमान गरेको छ ।

चालु मूल्यअनुसार कुल उत्पादन आधारभूत मूल्यमा रु. ८० खर्ब १० अर्ब ६७ करोड, चालु मूल्यअनुसार कुल मध्यवर्ती उपभोग उपभोक्ताको मूल्यमा रु. ३३ खर्ब ९४ अर्ब १७ करोड र चालू मूल्यअनुसार कुल गार्हस्थ्य उत्पादन आधारभूत मूल्यमा रु. ४६ खर्ब ९६ अर्ब ४९ करोड रहने देखिएको छ ।

चालु मूल्यमा कुल स्थिर पुँजी निर्माण रु. १३ खर्ब ५६ अर्ब ४६ करोड (कुल गार्हस्थ्य उत्पादनको २५.२१ प्रतिशत) र चालू मूल्यमा अन्तिम उपभोग खर्च रु ५० खर्ब ३६ अर्ब १५ करोड (कुल गार्हस्थ्य उत्पादनको ९३.५९ प्रतिशत) रहने विभागको अनुमान छ ।

चालु मूल्यमा वस्तु तथा सेवा निर्यात रु. ३ खर्ब ८५ अर्ब ११ करोड (कुल गार्हस्थ्य उत्पादनको ७.१६ प्रतिशत), चालु मूल्यमा वस्तु तथा सेवा आयात रु. १९ खर्ब ६४ अर्ब ३३ करोड (कुल गार्हस्थ उत्पादनको ३६.५ प्रतिशत), चालु मूल्यमा कुल राष्ट्रिय बचत कुल गार्हस्थ्य उत्पादनको ३१.६६ प्रतिशत, विप्रेषण रु. १२ खर्ब ३१ अर्ब ७३ करोड (कुल गार्हस्थ्य उत्पादनको २२.८९ प्रतिशत), प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन रु. १,८२,६८३ अर्थात १,३९९ युएस डलर, यस्तै प्रतिव्यक्ति कुल राष्ट्रिय आए रु. १,८४,१४० अर्थात १,४१० अमेरिकी डलर रहने अनुमान गरेको छ ।