चिकित्सकको परामर्श शुल्क बढ्यो, ९४० रुपैयाँसम्म लिन पाउने

चिकित्सकको परामर्श शुल्क बढ्यो, ९४० रुपैयाँसम्म लिन पाउने

कहिरन समाचार

काठमाडौँ । आगामी जेठ १ गतेदेखि अस्पतालको बहिरंग (ओपीडी) शुल्क वृद्धि हुने भएको छ । नेपाल चिकित्सक संघ र एशोसिएसन अफ प्राइभेट हेल्थ इन्ष्टिच्युसन नेपाल (अफिन) को बैठकले डाक्टरहरूको परामर्श शुल्क बढाउने निर्णय गरेको हो ।

चिकित्सक संघ र अफिनले एक विज्ञप्ति जारी गर्दै चिकित्सकको अनुभव र योग्यताका आधारमा ४२० देखि ९४० सम्म शुल्क लिन पाउने गरी निर्णय गरिएको हो ।

१८ चैत २०७९ मा बसेको नेपाल चिकित्सक संघ र अफिनको संयुक्त बैठकबाट नेपाल राष्ट्र बैंकको मुद्रा स्फीति दर तथा शुल्क निर्धारण समितिको सिफारिसलाई आधार मानी नयाँ परामर्श शुल्क सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ । परामर्श शुल्क कार्यान्वयन गर्न चिकित्सक, स्वास्थ्य संस्था तथा अस्पताललाई आग्रह समेत गरेका छन् ।

विज्ञप्तिमा उल्लेख भए अनुसार एमबीबीएस र बीडीएस चिकित्सकहरू ५ वर्ष अनुभव भएकाले ४२० र ५ वर्षभन्दा बढी अनुभव भएकाहरूले ५१५ रुपैयाँ परामर्श शुल्क लिन पाउनेछन् ।

यस्तै, डिप्लोमा चिकित्सकहरू ५ वर्ष अनुभव भएकाले ५९० र त्यसभन्दा बढी अनुभव भएकाहरूले ६७० शुल्क लिन पाउनेछन् । यस्तै, एमडी, एमएस र एमडीएस चिकित्सकहरू ५ वर्ष अनुभव भएकाले ७५० र त्यसभन्दा बढी अनुभव भएकाहरूले ८०० रुपैयाँ शुल्क लिन पाउनेछन् ।

डीएम तथा एमसीएच गरी ५ वर्ष अनुभव भएकाहरूले परामर्श शुल्कबापत ८८० रुपैयाँ लिन पाउनेछन् । डीएम तथा एमसीएच गरी ५ वर्षभन्दा बढी अनुभव भएका तथा एमडी एमएस, एमडीएस गरी १० वर्षभन्दा बढी अनुभव भएकाहरूले ९४० रुपैयाँ परामर्श शुल्क लिन पाउनेछन् ।