‘उच्चपदस्थ व्यक्ति र सर्वसाधारणको उपचारमा विभेद हुनुहुदैन’

‘उच्चपदस्थ व्यक्ति र सर्वसाधारणको उपचारमा विभेद हुनुहुदैन’

कहिरन समाचार

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले उच्चपदस्थ व्यक्ति र सर्वसाधारणको उपचारमा विभेद हुन नहुने भन्दै राष्ट्रपति रामचन्द्र पौडेलले उपचार खर्च आफैँले बेहोर्नुपर्ने बताएका छन् ।

नेपाल ट्रेड युनियन काँग्रेसले सोमबार १३४ औँ अन्तरराष्ट्रिय श्रमिक दिवसको अवसरमा आयोजना गरेको श्रमिक सभामा सम्बोधन गर्दै महामन्त्री थापाले गणतन्त्रमा राज्यका उच्चपदस्थ व्यक्तिहरुले राज्यकोषबाट उपचार गर्ने र सर्वसाधारणले भने आफैँ उपचार गर्नुपर्ने विभेद हुन नहुने बताएका हुन् ।

‘हामीले संसदबाट एउटा कानून बनायौँ । गणतन्त्र भनेको दुई खालको नागरिकहरु हुँदैन भन्यौँ । सबै समान हुन्छ भन्यौँ । त्यसैले गणतन्त्र नेपालमा हेर्दा सानो कुरा देखिन्छ । नेपालको राष्ट्राध्यक्ष, राष्ट्रपति, प्रधानमन्त्री वा ठूलो मान्छे भनौँ न अस्वस्थ भयो, बिरामी भयो भने उसको उपचार राज्यको कोषबाट, जनताले तिरेको करबाट बाहिर लगेर उपचार गर्ने’, उनले भने‚ ‘अनि उसको उपचार खर्च जनताले अथवा राज्यकोषले बेहोर्नुपर्ने तर नागरिक चाहीँ अस्पतालमा उपचार गर्दागर्दै उपचारको पैसा तिर्न नसकेर कोही हाम्फाल्नुपर्ने । अस्पतालमा गए बन्धक बन्नुपर्ने यो गलत हो‚ यो गर्न पाइँदैन भनेर संसदमा हामीले कानून बनाएका छौँ ।’

उनले राष्ट्रपति पौडेललाई उपचार खर्च आफैँ बेहोर्छु भनेर सार्वजनिक रुपमा भन्नसमेत आग्रह गरे । भारतबाट उपचार गरेर आइतबार स्वदेश फर्किएका राष्ट्रपति पौडेलले उपचार खर्च राज्यकोषबाट नभइ आफ्नै खल्तीबाट बेहोर्नुपर्ने थापाले बताए ।

उनले भने‚ ‘म सम्माननीय राष्ट्रपतिलाई यहीँबाट अनुरोध गर्न चाहन्छु, उहाँले मेरो उपचारको खर्च मैले मेरो खल्तीबाट म बेहोर्छु भनेर हाम्रो राष्ट्रपति बाहिर आइदिनुस् । यो गणतन्त्र हो त्यसैले राष्ट्रपति बिरामी हुँदै गर्दा पनि उपचारको खर्च राष्ट्रपतिले आफ्नो खल्तीबाट बेहोर्नुपर्छ । त्यसले राष्ट्रपतिको सम्मान र विश्वास कहाँ पुर्‍याउँछ?’