चालु वर्षको अर्धवार्षिक अवधिमा नेपालको आर्थिक वृद्धिदर ऋणात्मक

चालु वर्षको अर्धवार्षिक अवधिमा नेपालको आर्थिक वृद्धिदर ऋणात्मक

कहिरन समाचार

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासिक अवधिसम्मको कूल गार्हस्थ्य उत्पादन (जिडीपी) वृद्धिदर ऋणात्मक देखिएको छ । चालू आवको बजेटमार्फत आठ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राखेको नेपालले अर्धवार्षिक अवधिमा भने ऋणात्मक वृद्धिदर भोगेको हो ।

केन्द्रीय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको गत पुस मसान्तसम्मको आर्थिक वृद्धिदर अनुमान हेर्दा पहिलो त्रैमास (साउन, भदौ र असोज) मा ०.३४ र दोस्रो त्रैमास (कात्तिक, मंसिर र पुस) मा ०.७३ प्रतिशतले ऋणात्मक देखिएको हो ।

तथ्याङ्क कार्यालयले लगानी, उपभोग, बचतलगायतका आर्थिक सूचक हेरेर कूल गार्हस्थ्य उत्पादन अनुमान गर्दै आएको छ । त्रैमासिक कूल गार्हस्थ्य उत्पादनको अनुमान तयार गर्दा मौसमी प्रभाव विश्लेषणसहित र मौसमी प्रभाव विश्लेषणविना गरी दुई प्रकारका तथ्याङ्क निकालिएको केन्द्रय तथ्याङ्क कार्यालयले जनाएको छ ।

मौसमी प्रभाव विश्लेषणविनै गरिएको आर्थिक वृद्धिदर भने १.१ प्रतिशतले ऋणात्मक हुने प्रारम्भिक अनुमान गरिएको छ । तथ्याङ्क कार्यालयका अनुसार खानी तथा उत्खनन, उद्योग, निर्माण, व्यापार, यातायात तथा गोदाम क्षेत्रको वृद्धिदरमा ठूलो गिरावट देखिएको छ ।

केन्द्रीय तथ्याङ्क कार्यालयका अनुसार निर्माण क्षेत्रमा २०.६ प्रतिशतले उत्पादनमा कमी हुने प्रारम्भिक अनुमान गरिएको छ । निर्माण सामग्रीको आन्तरिक उत्पादन र आयातमा आएको गिरावटका साथसाथै निर्माण क्षेत्रमा भएको शिथिलताले यस क्षेत्रमा नकारात्मक असर परेको कार्यालयले जनाएको छ । त्यसैगरी खानी तथा उत्खनन १६.४, व्यापार ९.७, यातायात ५.५ र औद्योगिक उत्पादनमा ४.३ प्रतिशतले कमी हुने प्रारम्भिक अनुमान गरिएको छ ।

चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक र अघिल्लो वर्षको दोस्रो त्रैमासिकबीच क्षेत्रगत तुलना गर्दा सबैभन्दा बढी आर्थिक वृद्धिदर आवास र भोजन सेवामा २०.४ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ । पर्यटकको आगमनमा भएको सुधारात्मक वृद्धिले यस क्षेत्रमा प्रत्यक्षरुपमा सकारात्मक प्रभाव परेको देखिन्छ ।

वित्तीय तथा बीमासम्बन्धी क्षेत्रको वृद्धिदर १४ प्रतिशत र विद्युत् क्षेत्र ८ प्रतिशतले बढ्ने प्रक्षेपण गरिएको छ । पेसागत, वैज्ञानिक तथा प्राविधिक क्रियाकलापमा ६.३ र सार्वजनिक प्रशासन सेवाको क्षेत्रमा ५.७ प्रतिशतले उत्पादन वृद्धि हुने प्रारम्भिक अनुमान गरिएको छ ।

“मौसमी प्रभाव समायोजित त्रैमासिक सूचकाङ्क हेर्दा चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिभन्दा दोस्रो त्रैमासिक अवधिमा कूल २१ प्रकारका उद्योगमध्ये पाँचको वृद्धिदर ऋणात्मक हुने र बाँकी उद्योगको उत्पादनमा धनात्मक रहने प्रारम्भिक अनुमान गरिएको छ”, केन्द्रीय तथ्याङ्क कार्यालयले भनेको छ ।

वित्तीय तथा बीमासम्बन्धी क्रियाकलापमा सबैभन्दा धेरै ४.७ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ । त्यसैगरी स्वास्थ्य, शिक्षा र कृषिका क्षेत्रमा क्रमशः २.३, २.२ र १.६ प्रतिशतले वृद्धि हुने अनुमान छ । अर्कोतर्फ सोही अवधिमा खानी तथा उत्खननका क्षेत्रमा सबैभन्दा कम १८ दशमलव पाँच प्रतिशतले उत्पादनमा कमी हुने प्रारम्भिक अनुमान गरिएको छ ।

त्यसपछि आवास तथा भोजन सेवा, औद्योगिक उत्पादन, निर्माण, व्यापार र यातायातका क्षेत्रमा क्रमशः छ दशमलव छ, छ दशमलव दुई, छ दशमलव एक, चार दशमलव तीन र चार दशमलव एक प्रतिशतले अघिल्लो त्रैमासिकको तुलनामा कमी हुने अनुमान गरिएको छ ।