सांसद कोइरीलाई पक्राउ गर्न सहयोग माग्दै सभामुखलाई प्रहरीको पत्र

सांसद कोइरीलाई पक्राउ गर्न सहयोग माग्दै सभामुखलाई प्रहरीको पत्र

कहिरन समाचार

काठमाडौं । नेपाल प्रहरीले फरार रहेका नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउका लागि सहयोगको आग्रह गर्दै संघीय संसद सचिवालयलाई पत्र पठाएको छ ।

प्रहरीले सोमबार सभामुख देवराज घिमिरेलाई सम्बोधन गरेर हत्या अभियोग पुष्टि भएका कोइरी फरार रहेको पत्र पठाएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता कुबेर कडायतले जानकारी दिए । पत्रमा प्रहरीले सांसद कोइरी फरार रहेकाले पक्राउका लागि सहयोग गर्न आग्रह गरिएको हो ।

‘पहिला पनि पत्र पठाएको थियो । आज पनि हामीले उहाँ फरार भनेर अदालतको पूर्णपाठसहितको पत्र सभामुखलाई सम्बोधन गरेर पठाएका हौं,’ उनले भने ।

संसद सचिवालयका प्रवक्ता एकराम गिरीले पनि सभामुखलाई सम्बोधन गरेर पत्र आएको पुष्टि गरे ।

उनीविरुद्ध ०७२ भदौ २५ गते सशस्त्र प्रहरी सहायक निरीक्षक थमन बिकलाई घेरा हालेर हत्या गरेको आरोप छ । उच्च अदालत जनकपुरबाट थुनामा राखी पुर्पक्ष गर्न आदेश भएको थियो । तर उनी फरार छन् ।

प्रतिनिधि सभाको वैशाख १५ गतेको बैठकमा सभामुख घिमिरेले फरार रहेका सांसद कोइरीले अस्वस्थ रहेको भन्दै पठाएको पत्रलाई समावेश गरेर बिदा स्वीकृतका लागि पेश गरेका थिए । लगत्तै सत्तापक्षका सांसद्हरूले बैठकमा विरोध जनाएपछि नयाँ अधिवेशनमा कानुन बमोजिम गर्ने भन्दै सभामुख घिमिरे पछि हटेका थिए ।

प्रतिनिधि सभाको नियमावली अदालतको आदेश बमोजिम पुर्पक्षका लागि थुनामा बस्नुपर्नेमा त्यस्तो थुनामा नबसी फरार रहेको भएमा निजलाई सदस्यको हैसियतले कुनै कार्य गर्न वा कुनै अधिकार वा उन्मुक्ति प्राप्त हुने छैन र त्यस्तो अवधिभर निज निलम्बनमा रहने र पारिश्रमिक, सेवा र सुविधा स्थगित हुने व्यवस्था छ ।