भूकम्पपछि बन्द तातोपानी नाकाबाट निर्यात हुन थाल्यो

भूकम्पपछि बन्द तातोपानी नाकाबाट निर्यात हुन थाल्यो

कहिरन समाचार

काठमाडौं । नेपाल–चीनबीचको सबैभन्दा ठुलो उत्तरी सीमा तातोपानी नाकाबाट आठ वर्षपछि चीनतर्फ निर्यात खुलेको छ । प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले दुवै देशबाट आयात–निर्यात खुल्दै नाका सञ्चालनमा आएको जानकारी दिए । दुवै देशमा मालवाहक कन्टेनर आउजाउ हुन थालेका छन् ।

चीन र नेपालका सुरक्षा निकायको उपस्थितिमा दुवै देशबाट आयात–निर्यात खुलेको छ । आज मितेरी पुलबाट तीनवटा कन्टेनरबाट चीनतर्फ मुडा, जुट, म्याट्रिक्स र हस्तकलाकाका सामाग्री पठाएर निर्यात खुलाइएको प्रजिअ न्यौपानेले बताए ।

२०७२ वैशाख १२ गतेको भूकम्पको चार वर्षपछि उक्त नाका २०७६ जेठ १५ देखि आंशिक रूपमा सञ्चालनमा आएको थियो । भूकम्पअघि उक्त नाकाबाट हस्तकलाका सामाग्री, वनस्पति, जडीबुटी, चाउचाउ लगायतका १८२ प्रकारका सामाग्री निर्यात हुँदै आएको थियो ।

तातोपानी नाका पूर्ण रूपमा सञ्चालनका लागि गत फागुन ४ गते, चैत ६ गते नेपालबाट जिल्ला प्रशासन कार्यालय, अध्यागमन कार्यालय, जिल्लाका सुरक्षा निकाय, तातोपानी भन्सार कार्यालय र चीनको न्यायालय काउन्टी प्रशासन, सुरक्षा निकाय, अध्यागमन लगायतका अधिकारी बिच सीमा क्षेत्रमा बैठक भएको थियो । उक्त बैठकमा नाकाबाट हुने अवाञ्छित गतिविधि, आपराधिक गतिविधि लगायतका समस्या हटाउने विषयमा छलफल भएको थियो ।

चैत १५ मा जनवादी गणतन्त्र चीनको तिब्बत स्वायत्त क्षेत्र ल्हासामा सम्पन्न नेपाल–चीनको उच्च स्तरीय संयन्त्रको बैठकमा तातोपानी नाका पूर्ण रूपमा खोल्ने सहमति भएको थियो । वैशाख ४ गते सम्पन्न नेपाल–चीनका सरकारी अधिकारीबिच निर्यात खोल्ने सहित ६ बुँदे सहमति भएको थियो । वैशाख १७ गते सम्म खासाबाट दैनिक १० सङ्ख्यामा मालवाहक कन्टेनर नाका भित्रँदै आएको तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख अधिकृत दयानिधि केसीले बताए । स्याउ, लसुन, उन, रोल कपडा लगायतका सामान आयात हुँदै आएको थियो ।

चालु आर्थिक वर्षमा चार अर्ब ६२ करोड भन्सार राजश्व सङ्कलन लक्ष्य लिएकोमा हालसम्म दुई अर्ब २० करोड सङ्कलन भएकोमा केसीले बताए । भूकम्प अघि उक्त नाकाबाट वार्षिक २० अर्बको आयात र दुई अर्बको निर्यात हुदै आएको थियो । त्यसबाट राज्यले वार्षिक पाँच अर्ब रुपियाँ राजश्व संकलन भएको थियो ।