रास्वपा सरकारमा आए भ्रष्टाचारको फाइल खोल्न तयार छु : प्रधानमन्त्री प्रचण्ड

रास्वपा सरकारमा आए भ्रष्टाचारको फाइल खोल्न तयार छु : प्रधानमन्त्री प्रचण्ड

कहिरन समाचार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा आउन आग्रह गरेका छन् । उनले रास्वपाले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता नलिएको पनि बताए ।

सोमबार बिहान प्रेस सेन्टरले चितवनमा आयोजना गरेको पत्रकारसँग प्रधानमन्त्री कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले रास्वपा सरकारमा आए आफू भ्रष्टाचारको जुनसुकै फाइल खोल्न तयार भएको बताएका हुन् ।

‘तपाईँ आउनुस्, भ्रष्टाचारको कुन फाइल खोल्नुपर्‍यो म तयार छु,’ प्रधानमन्त्री प्रचण्डले भने । सरकारमा आउने विषयमा लामिछाने पनि सकारात्मक रहेको प्रचण्डको भनाइ छ ।

उनले कोशी प्रदेशको नामकरणको आन्दोलनमा सत्तारुढ दल सहभागी नभएको दाबी पनि गरेका छन् । प्रचण्डले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली लक्षित आक्रामणमा सत्तारुढ दलको संलग्नता नरहेको प्रष्ट पारे ।

‘केपी ओलीजी पूर्व जाँदा केही आक्रामणको प्रयास भएको बुझियो। त्यसलाई सरकारले गम्भीरतापूर्वक लिएको छ। त्यसमा कोशी प्रदेश नामाकरणसँग असहमति राख्नेहरू छन् तर सत्तारूढ दलको संस्थागत विरोध भन्ने कुरा चाहिँ विल्कुलै होइन । त्यो झुटो कुरा हो,’ प्रचण्डले भने, ‘तर एमाले अध्यक्ष ओलीले प्रदर्शनमा पूर्वराजपरिवारमा आस्था राख्ने मानिसहरू रहेको गर्नुभएको छ, त्यो चाहिँ निकै संवेदनशील विषय हो ।’

यस्तै प्रचण्डले पूर्वलडाकुलाई रकम दिने विषय विसं २०७१ को सरकारले गरेको निर्णय भएको बताए । तत्कालीन समयमा अर्थमन्त्री विष्णु पौडेल रहेको र कांग्रेस एवं एमाले सरकार रहँदा छलफल भएर टुङ्गिएको विषय भएको प्रधानमन्त्री दाहालले जानकारी दिए । तत्कालीन समयमा सर्वोच्च अदालतमा मुद्दा परेका कारण रोकिएको र अहिले दिन मिल्ने गरी फैसला भएकाले रकम दिन लागिएको उनले बताए ।

आर्थिक समस्याका कारण किस्ताबन्दीमा लडाकुलाई रकम दिने विषयमा छलफल भइरहेको प्रधानमन्त्री दाहालले बताए ।