सांसद चन्द्र भण्डारी स्वेदश फर्किए

सांसद चन्द्र भण्डारी स्वेदश फर्किए

कहिरन समाचार

काठमाडौं । नेपाली काँग्रेसका नेता एवम् सांसद चन्द्र भण्डारी स्वदेश फर्किएका छन् । भारतको मुम्बईस्थित नेशनल बर्न अस्पतालमा उपचाररत उनी आइतबार साँझ स्वदेश फर्किएका हुन् ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उनले आफूलाई बाँच्नका लागि साथ र सहयोग गरेकोमा नेपाल सरकार, विभिन्न राजनीतिक दलका नेताहरू, सहकर्मीहरू सबैप्रति धन्यवाद व्यक्त गरे ।

नेता भण्डारीले आफू थप उपचारका लागि भारत गएकै दिन नेपाल सरकारले अर्को बर्न अस्पताल बनाउने निर्णय गरेकोमा खुशी लागेको उल्लेख गर्दै त्यस अस्पताल निर्माणको नेतृत्व पनि गर्न चाहेको बताए । उनले उक्त अस्पतालको निर्माणमा सहयोग गर्न पनि सबैलाई अपिल गरे ।

भण्डारीले भने, ‘एउटा ठूलो दुर्घटनाबाट हामी आएका छौं । हुनत नेपालमा अहिलेसम्म यो वर्षमा ११० जना नेपाली दाजुभाइ दिदीबहिनीले आगजनीबाट ज्यान गुमाउनु परेको छ । यी विषय पाठ्यक्रममै राख्नुपर्छ । नेपालमा धेरै आमाबुबा र युवायुवतीले ज्यान गुमाउनु भएको छ । यी दुःखद पक्ष हुन् ।’

स्वास्थ्यमा सुधार हुँदै गएपछि उनी स्वदेशमै बसेर उपचार गर्ने गरी फर्किएका हुन् । उनी गत फागुन ३ गते खाना पकाउने ग्यास लिक भएर घाइते भएका थिए । सोही घटनामा घाइते भएका नेता भण्डारीकी आमाको उपचारका क्रममा निधन भएको थियो ।