सरकार र महावीर पुनबीच वार्ता

सरकार र महावीर पुनबीच वार्ता

कहिरन समाचार

काठमाडौं । सरकारले तीन दिनदेखि आन्दोलनरत राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनसँग वार्ता थालेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनमा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र पुनबीच आज रक्षा मन्त्रालयमा वार्ता भएको हो ।

दिउँसो १ बजे भएको वार्ता सकारात्मक रहेको पुनले जानकारी दिएका छन् । छलफलमा माग सम्बोधनका लागि दुबै पक्षबाट वार्ता टोली गठन गरेर भोलिसम्म माग पूरा गर्ने गरी छलफल भएको उनले बताए ।

रक्षामन्त्रीसँगको वार्ता जारी हुँदासमेत प्रधानमन्त्री प्रचण्डले दुईपटक फोन गरेर चासो देखाएकाले माग पूरा हुने सम्भावना देखिएको पुनले बताए । यद्यपि भोलि कागजमा सहमति गर्दा सरकार कसरी प्रस्तुत हुन्छ भन्ने हेर्न बाँकी रहेको उनको भनाइ छ ।

विभिन्न ४ बुँदे माग राखेर शुक्रबारदेखि माइतीघरको सडकमा धर्ना थालेका पुनको माग पूरा गर्न सत्तारुढ दलका नेताहरूले समेत दबाब दिएपछि सरकार बाध्य भएको हो ।

अनुसन्धान, नवप्रवर्तन र आविष्कारको क्षेत्रमा काम गर्न सरकार गम्भीर नभएको भन्दै पुनको आन्दोलनमा विभिन्न राजनीतिक दलका नेता, नागरिक अगुवा, सर्वसाधारणले ऐक्यबद्धता जनाएका छन् ।

पुनले अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि ऐन पारित गर्नुपर्ने, कोष खडा गर्नुपर्ने, वार्षिक विकास बजेटको १ प्रतिशत रकम छुट्याउनुपर्ने, स्टार्ट अपहरूलाई प्रोत्साहन गर्ने कानुन बनाउनुपर्ने, अनुसन्धानलाई प्रवर्धन गर्न व्यावहारिक अनुसन्धान र नवप्रवर्तन विभाग खोल्नुपर्ने, नेपालमा बनेको मोटरसाइकललाई तुरुन्त नम्बर प्लेट दिनुपर्ने, पुराना गाडीहरूलाई विद्युतीय गाडी बनाई चलाउन दिनुपर्ने माग गरेका छन् ।