धुलोमा परिणत भयो भारतको ‘ट्विन टावर’

धुलोमा परिणत भयो भारतको ‘ट्विन टावर’

कहिरन समाचार

भारतको नोएडास्थित सेक्टर ९३ ए मा रहेको विवादास्पद ट्विन टावर भत्काइएको छ । आँखा झिम्केको भरमा करिब ३७०० किलोग्राम बारुदले ट्विन टावरलाई ध्वस्त पारेको थियो । एपेक्स र केएन नामका टावरहरू सुपरटेक बिल्डरले बनाएका थिए । यी ३० तले भवनहरूलाई ट्विन टावर भनिन्थ्यो । यसको उचाइ ३२० फिटभन्दा बढी थियो ।

यो देशमा ढालिएको सबैभन्दा अग्लो बहु तले भवन थियो । यो नोएडाको घना जनसंख्या भएको इलाकामा थियो । सावधानी स्वरुप यी भवन नजिकैका कोलोनीमा बस्ने मानिसहरुको घर खाली गराइएको थियो ।

अब के हुन्छ ?

नोएडा प्राधिकरणका अनुसार सुपरटेकको ट्विन टावर भत्किएपछि प्रभावित क्षेत्रमा पानीका ट्याङ्करहरू, मेकानिकल स्विपिङ मेसिन र स्विपरहरू वातावरण संरक्षणका लागि तैनाथ गरिएको छ।​ नोएडा प्राधिकरणका अनुसार प्रभावित क्षेत्रमा सरसफाईका लागि ६ मेकानिकल स्वीपिङ मेसिन र २०० कामदार खटाइएको छ।

यसका साथै प्रभावित क्षेत्रमा सडक, फुटपाथ, पार्क, मध्यवर्ती किनारा, रुख तथा बोटबिरुवा धुनका लागि १०० वटा पानी ट्याङ्कीको पनि व्यवस्था गरिएको छ । यस अवधिमा वरपरका रुख तथा बिरुवामा रहेको धुलो तुरुन्तै हटाउने काम केही समयमै सुरु गरिने छ । आगामी दिनमा उक्त क्षेत्रमा पानी छर्किने कामसमेत  गरिने जानकारी दिइएको छ ।