रेसुङ्गा विमानस्थलमा परीक्षण उडान

रेसुङ्गा विमानस्थलमा परीक्षण उडान

कहिरन समाचार

गुल्मी । रेसुङ्गा विमानस्थलमा शुक्रबार परीक्षण उडान गरिएको छ । रेसुङ्गा नगरपालिका–१० स्थित सिमीचौरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल वायुसेवा निगमको नाइनएन–एबिटी जहाज बिहान ७ बजेर ३९ मिनेटमा अवतरण भएको हो ।

निगम र रेसुङ्गा नगरपालिकाबीच सम्झौता भएपछि व्यावसायिक उडानका लागि निगमले आज परीक्षण उडान गरेको हो । २०६३ सालमा निर्माण सुरु गरिएको विमानस्थल १६ वर्षपछि सम्पन्न भएको हो । कुल ३३ करोड रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको विमानस्थलको लम्बाइ ५२० मिटर र चौडाइ २० मिटर छ । एक सय ५६ रोपनी क्षेत्रफलमा फैलिएको रेसुङ्गा विमानस्थल समुद्र सतहदेखि एक हजार ५२६ मिटरको उचाइमा छ ।

आजको उडानपछि व्यावसायिक उडान गर्ने योजना रहेको वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेलले जानकारी दिए । प्राविधिक टोलीले सबै कुराको जानकारी लिएपछि निगमले व्यावसायिक उडान थाल्ने उनको भनाइ छ । कति यात्रु बोक्न सकिन्छ भन्ने विषयमा अध्ययन गरेपछि मात्र भाडादर निर्धारण गरिने उनले बताए । ‘रेसुङ्गा– काठमाडौं उडानको भाडा अहिले प्रतिव्यक्ति सरदर छ हजार ५०० हुने भनिए पनि अन्तिममा छ हजारसम्म कायम हुनसक्छ’, उनले भने ।

निगमका क्याप्टेन मनिष विष्टले एक साताभित्र नागरिक उड्ययन प्राधिकरणलाई आजको उडान प्रतिवेदन बुझाएपछि नियमित उडान हुने बताए । रेसुङ्गा विमानस्थलमा यसअघि २०७५ जेठ २५ गते पनि परीक्षण उडान गरिएको थियो ।

लामो समयपछि जहाज चढेर काठमाडौँ जाने गुल्मीवासीको सपना अब चाँडै साकार हुने रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले जानकारी दिए ।