लुम्बिनीको मुख्यमन्त्रीमा कांग्रेसका डिल्ली चौधरी नियुक्त

लुम्बिनीको मुख्यमन्त्रीमा कांग्रेसका डिल्ली चौधरी नियुक्त

कहिरन समाचार

काठमाडौं । नेपाली कांग्रेसका संसदीय दलका नेता डिल्लीबहादुर चौधरी लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । बिहीबार प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

दाङको निर्वाचन क्षेत्र नं. ३ (१) बाट निर्वाचित चौधरीले प्रदेश प्रमुख शेरचन समक्ष प्रदेश सभाका बहुमत सांसद ५३ जनाको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।

चौधरीले शुक्रबार विहान प्रदेश प्रमुखको कार्यालय बुटवलमा शपथ लिने तयारी छ । आजै प्रदेश प्रमुख शेरचनले चौधरीलाई मुख्यमन्त्रीमा निर्वाचित भएको प्रमाण पत्र वितरण गरेका छन् ।

प्रदेश प्रमुख शेरचनले वैशाख १२ गते संविधानको धारा १६८ को उपधारा २ अर्थात बहुमतको आधारमा नयाँ सरकार गठनका लागि बिहीबार दिउँसो ४ बजेभित्र दाबी पेश गर्न समयसीमा तोकेका थिए ।

८७ सदस्य लुम्बिनी प्रदेश सभामा एमालेका २९, नेपाली कांग्रेसका २७, माओवादीका ११, राप्रपाका र नागरिक उन्मुक्ति र जनमतका ४/४, जनता समाजवादी र लोकतान्त्रिक समाजवादीका ३/३, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका १/१ र स्वतन्त्रबाट १ सांसद रहेका छन् ।