चीनमा नेपाली चिया निर्यातको तयारी हुदै

चीनमा नेपाली चिया निर्यातको तयारी हुदै

कहिरन समाचार

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले चीनको बेइजिङस्थित नेपाली दूतावासमार्फत चीनमा नेपाली चिया निर्यातका लागि प्रक्रिया अगाडि बढाएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले चीनमा चिया निर्यातका लागि आवश्यक डकुमेन्ट पेस गरेर प्रक्रिया अगाडि बढाएको जानकारी दिएको छ ।

बोर्डका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद भट्टराईले नेपाली चियाको गुणस्तरमा उत्कृष्ट देखिएपछि चिनियाँ व्यापारी आकर्षित भएकाले निर्यातका लागि प्रक्रिया अगाडि बढाइएको जानकारी दिए । गत असोज ४–५ गते (२०२२ सेप्टेम्बर २०–२१) चीनको फुचियान प्रान्तको फुआन सहरमा भएको ‘सेकेन्ड वल्र्ड ब्लाक टी क्वालिटी इभ्यालुसन कम्पिटिसन’मा नेपाली चिया उत्कृष्ट देखिपछि चिया निर्यातको सम्भावना बढेको उनको भनाई छ ।

चिनियाँ व्यापारी नेपाली चिया लैजानका लागि उत्सुक रहेको उनले बताए । चिया निर्यातका लागि व्यवसायी टु व्यवसायी सम्झौता गर्न लागिएको पनि भट्टराईले जानकारी दिए ।

चियाको गुणस्तरीय उत्पादनमा वृद्धि गरी निर्यात गर्नुपर्ने व्यवसायीको भनाइ छ । छिमेकी मुलुकहरू भारत, श्रीलङ्कालगायतले चियामा भ्यालु एड गरी प्रतिस्पर्धी बजारमा आफ्नो स्थान सुरक्षित गरिरहेका छन् र नेपालले पनि आमउपभोक्ताको मागअनुसार सङ्ख्यात्मक उत्पादनमा मात्रै नभएर तयारी चियाको विशिष्टीकृत गुणस्तरमा ध्यान दिन अति जरुरी रहेको विज्ञहरूको भनाइ छ । नेपालमै पनि चियाको आन्तरिक खपत अन्य छिमेकी मुलुकको तुलनामा अति नै न्यून रहेकाले आन्तरिक बजार प्रवद्र्धन गर्नुपर्ने व्यवसायीको भनाइ छ ।

खुला बजार नीतिअनुरूप दीर्घकालीन समस्या समाधानका लागि चीन, रुस, अमेरिका, ईयूका राष्ट्रहरूसँग सम्झौता गरी त्यहाँ रहेका नेपाली कूटनीतिक नियोगमार्फत नेपाली चियाको ब्रान्ड प्रवद्र्धन गर्नुपर्ने विज्ञहरूको भनाइ छ । नेपालमा उत्पादित अर्थोडक्स चियाको बजार प्रवद्र्धनका लागि ट्रेडमार्क कार्यान्वयनमा ल्याई २९ वटा उद्योगले ट्रेडमार्क प्राप्त गर्न सफल भएको बोर्डले जनाएको छ ।

चीनमा निर्यातको ठूलो सम्भावना बढेको नेपाली चिया हालसम्म भारत, क्यानडा, भारत, जर्मनी, जापान, कतार, इटाली, ताइवान, अस्टेलिया, नेदरल्यान्ड, स्विट्जरल्यान्ड, फ्रान्स, हङकङ, नर्वे, अमेरिकालगायतका देशमा निर्यात हुने गर्छ । हाल वार्षिक रूपमा चार अर्बको चिया निर्यात हुदै आएको छ ।