प्रमुख दलले नाम नदिँदा संसदीय समिति गठनमा विलम्ब

प्रमुख दलले नाम नदिँदा संसदीय समिति गठनमा विलम्ब

कहिरन समाचार

काठमाडौं । प्रमुख तीन दलले नाम नदिएपछि संसदीय सुनुवाइ लगायतका समितिहरु गठन प्रक्रिया लम्बिने भएको छ । दलहरुले थप गृहकार्य गर्नुपर्ने माग गर्दै नाम नदिएपछि विषयगतलगायत समिति गठन प्रक्रिया लम्बिने भएको हो ।

संसद बैठकअघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख देवराज घिमिरेले समिति गठनका लागि भोलिसम्म नाम टुंगो लगाउन दलहरूलाई आग्रह गरेका छन् । नेपाली कांग्रेस, एमाले र माओवादीले सुनुवाइ समितिमा रहने सदस्यहरुको नाम नदिएका हुन् ।

बैठकमा सभामुखले भने, ‘तपाईंहरुले नाम (संयुक्त, विषयगत, विशेष समितिमा प्रतिनिधित्व गर्ने सांसदहरु) दिनुभयो भने संसद्लाई प्रभावकारी बनाउन सकिन्छ । भोलिसम्ममा नाम दिनुहोला । आज नाम दिनुभएको भए आजै घोषणा गर्न सकिन्थ्यो । तर, सबैको नाम प्राप्त हुन सकेन ।’

बैठकपछि कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सत्ता पक्ष र प्रतिपक्षबीच बृहत्तर सहमतिको प्रयास भइरहेको बताए । उनले भने, ‘हामी निरन्तर छलफलमै छौँ, आज पनि छलफल गर्छौँ र यसलाई चाँडोभन्दा चाँडो टुंगोमा पुर्‍याउँछौँ ।’

यस्तै संवैधानिक परिषद्सम्बन्धी विधेयकमा मुख्य दलबीच सहमति जुट्न सकेन । एमालेले गणपूरक संख्यामा अध्यक्ष र ५० प्रतिशतको सट्टा अध्यक्ष र परिषद्का बहुमत सदस्यको उपस्थितिमा निर्णय गर्ने व्यवस्था राख्नुपर्ने अडान लिएपछि सहमति जुट्न नसकेको हो ।