बचतमा ब्याजदरको अन्तर २ प्रतिशत कायम गनुपर्ने

बचतमा ब्याजदरको अन्तर २ प्रतिशत कायम गनुपर्ने

कहिरन समाचार

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले विभिन्न प्रकारका बचत खातामा दिइने ब्याजदरको अन्तर २ प्रतिशत बिन्दुभन्दा बढीले फरक पार्न नपाइने भएको छ ।

नेपाल राष्ट्र बैंकले मंगलबार वित्तीय चेतनाका लागि सूचना प्रकाशित गर्दै नयाँ बचत खाताको विकास गर्दा पुरानो खाताको ब्याजदर अत्यन्तै कम भएको सूचना सम्बोधन गर्दै उक्त व्यवस्था गरेको हो ।

ब्याजदर परिवर्तन गर्दा वा नयाँ बचत खाताको विकास गर्दा सबै प्रकारका बचत खाताको ब्याजदर सोही बमोजिम समायोजन (बढ्दा सबैको बढ्ने र घट्दा सबैको घट्ने) गर्नु पर्ने व्यवस्था गरिएको छ ।

बैंक तथा वित्तीय संस्थाले विविध प्रकारका बचत खाताका बिकल्प प्रदान गर्ने गर्दछन् । यी सबै खाताका विशेषता जस्तै ब्याजदर, न्यूनतम मौज्दात, कार्ड, चेक, मोबाइल र इन्टरनेट बैंकिङ जस्ता सुबिधा र सर्त फरकफरक हुन्छन् ।

बचत खाताको ब्याजदर तथा सम्पूर्ण सर्त र सुबिधाप्रति चनाखो भई पूर्ण जानकारी लिन सेवाग्राहीहरुलाई राष्ट्र बैंकले सुझाएको छ ।