मकै बालीमा फौजी किराको प्रकोप

मकै बालीमा फौजी किराको प्रकोप

कहिरन समाचार

पर्वत । जिल्लामा कृषकले लगाएको मकै बालीमा अमेरिकन फौजी किराको प्रकोप देखिएको छ । मौसमको प्रतिकूलताका कारण यसको प्रकोप बढेको हो ।

लामो समयको खडेरीका कारण मकैका बोटमा शत्रु जीव ‘अमेरिकन फौजी किरा’ को प्रकोप देखिन थालिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । विभिन्न स्थानमा उक्त किराको लार्भाले मकैको बोटको पात र गुभा खाएको पाइएको छ। ‘फौजी किरा’को प्रकोप फैलिने देखिएको कृषि ज्ञान केन्द्रका प्रमुख तथा वरिष्ठ कृषि विकास अधिकृत मनिता थापाले बताइन् । विगत वर्षमा मनसुन बढी सक्रिय रहेका कारण किराको प्रभाव नदेखिएको उनको भनाइ छ ।

‘यो वर्ष किराले मकैको बोट खान थालेको छ, गर्मी बढेकाले किराको प्रकोप फैलिन सक्ने जोखिम छ’, उने भनिन्, ‘अघिल्लो वर्ष मनसुन बढी सक्रिय भएका कारण यसको प्रकोप थिएन । लामो समयसम्म वर्षा नहुँदा यसको प्रकोप देखिन्छ । घाम लागेर खडेरी परेको बेला यसको प्रकोप बढ्छ ।’

गोरखामा २०७७ सालमा अमेरिकन फौजी किराले मकैको बोट र गुभा खाएर नष्ट गरेको थियो । उक्त जिल्लामा कृषकले ठूलो क्षति व्यहोर्नुपरेको थापाले बताइन् । पछिल्लो समय पर्वतमा यसको जोखिम बढेको छ। कृषि ज्ञान केन्द्रले कुश्मा नगरपालिका–९ कटुवाचौपारीमा यतिबेला आईपीएम कृषक पाठशाला सञ्चालन गरिरहेको छ । सोही क्रममा कृषकले प्रत्यक्षरूपमा मकैखेतीमा नै गएर मकैको विकास क्रमलगायतका बारेमा अध्ययन गरिरहेका छन् ।

सोही क्रममा गत शुक्रवार ‘फौजी किरा’ले मकैको बोट खाएको देखिएको हो । लगत्तै कुश्मा नगरपालिका–२ खुर्कोटमा पनि ‘फौजी किरा’ले मकैका बोट खाएको पाइएको थियो। फलेवास, विहादी, महाशिला, मोदी र पैयुँका केही वडामा पनि यो किराको प्रभाव देखिन थालेको कृषकले बताएका छन् ।

अधिकृत थापाका अनुसार वयस्क किराले मकै वा अन्य बालीको पात र गुभामा अण्डा पार्छ । करिब दुई हप्तासम्म लार्भा अवस्थामा रहने यो किराले सबैभन्दा बढी क्षति नै लार्भा अवस्थामा पुर्‍याउँछ । करिब एक हप्ताको वयस्क अवस्थामा उडेर टाढा–टाढासम्म पुगेर अण्डा पार्ने भएका कारण छोटो समयमा नै यसको प्रकोप फैलिने उनले बताइन् । एक ठाउँमा देखिनु भनेको धेरै ठाउँमा देखिनु भएकाले यदाकदा देखिँदा बित्तिकै यसको प्रकोपको भय हुने थापाले बताइन् ।

पर्वतका विभिन्न स्थानीय तहमा रहेका १० समूहले मकैको बीउ उत्पादन गरिरहेका छन् । ती समूहलाई ‘अमेरिकन फौजी किरा’ को प्रकोपबारे केन्द्रले जानकारी गराएको छ । केन्द्रका कृषि प्राविधिक तथा कार्यालयका सूचना अधिकारी विश्वास काफ्लेले किराले रातिको समयमा बढी क्षति गर्ने गरेको बताए ।

यसको व्यवस्थापनका लागि खेतबारीमा नियमित अवलोकन गर्ने, बालीको बीच–बीचमा ‘डेस्मोडियम’ घाँस लगाउने, खेतबारीको छेउछाउमा ‘नेपियर’ घाँस लगाई किरा आकर्षण गरी विषादी प्रयोग गरेर एकैपटक मार्नेलगायत उपाय अपनाउन उनले सुझाव दिए ।