भ्रष्टाचार अन्त्य गर्न कडा कानुनको माग

भ्रष्टाचार अन्त्य गर्न कडा कानुनको माग

कहिरन समाचार

काठमाडौँ । सांसदहरुले भ्रष्टाचारको कारणले देश कंगाल भएको बताएका छन् । आजको प्रतिनिधिसभाको बैठकमा भ्रष्टाचार निवारण पहिलो संशोधन विधेयक २०७७ माथि बिचार गरियोस भन्ने प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनीहरुले सरकारले भ्रष्टाचारीलाई कारबाही गर्ने संकल्प लिनुपर्ने बताएका छन् ।

नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले सरकारमा भएकाहरुले भ्रष्टाचार गरेको खण्डमा पाँच वर्ष पछि अनुसन्धान गर्न नपाइने नियम हटाउनुपर्ने माग गरेका छन् । ‘भ्रष्टाचारमा ५ वर्षको हदम्याद राख्यो भने, ५ वर्षसम्म सरकारले संरक्षण गर्छ, ’ उनले भने, २, ४ करोडदेखि २, ४ अर्बसम्म भ्रष्टाचार गर्‍यो भने १४ वर्षभन्दा बढी जेलमा बस्नु नपर्ने गरी यो प्रावधान राख्न खोजिएको छ, त्यो हुन सक्दैन, आजीवन जेल सजाय हुनुपर्छ ।’

उनले देश भ्रष्टाचारले कंगाल र अर्थतन्त्र जर्जर भएको बताउदै जनतामा निराशा बढेको बताए । ‘कानुन नभएका कारणले भ्रष्टाचार मौलाएको होइन । भएका कानुन प्रभावकारी ढंगले कार्यान्वयन भएनन् र राज्यका मेकानिजमहरु आफैँ भ्रष्टाचारमा लिप्त भए, उनले भने, भ्रष्टाचारीहरुलाई हामी कारबाहीको दायरामा ल्याउँछौँ र शिर निहुरिएर हिँड्नुपर्ने ठाउँमा पुर्‍याउँछौँ भन्ने संकल्प हामी सबैले गरौँ ।’

यस्तै कांग्रेस सांसद प्रदीप पौडेलले सुशासन कायम नगरेसम्म समृद्धी हासिल गर्न नसकिने बताए । उनले भ्रष्टाचार अन्त्य गर्नका लागि हामिले बनाएको कानुन कार्यान्वयन हुने खालको हुनुपर्ने बताए ।

उनले भने, ‘एकदमै ठूलो माछा भनिन्छ नि, कुनै पनि खालको माछा यसबाट छुट्ने अवस्था हुनुहुदैन । असाध्यै कडा कानुन बनाएर पहुँचले काम नगर्ने गरी यसलाई हामीले कार्यान्वयन गर्ने परिस्थिति बनायौँ भने मात्रै यसले काम गर्छ ।’

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले नेपालमा नीतिगत, राजनीतिक भ्रष्टाचार व्याप्त भएको भन्दै राज्यले भ्रष्टाचार गर्दा जनता गरिब भएको बताए ।

उनले भने, ‘हाम्रो संस्कृति नै भ्रष्ट छ । संस्कृतिमा भएको भ्रष्टाचार कसरी निवारण गर्ने? कानूनले मात्रै सबै कुरा गर्छ जस्तो मलाइ लाग्दैन । हामीले हाम्रो सभ्यताको जतिसुकै कुरा गरे पनि हाम्रो सभ्यतामा केही त्यस्ता समस्या छन्, जसले हामीलाई अघि बढ्न दिएको छैन ।’

उनले थप भने, ‘हाम्रोमा भ्रष्टाचार शक्तिले गर्छ‚ कमजोरहरूले गर्दैनन् । यो सबैभन्दा ठूलो अपराध हो । यसले गरिब बनाएको छ। जनता आफैँ आफ्ना कारणले गरिब छैनन् । राज्यले भ्रष्टाचार गर्छ, जनतालाई गरिब बनाउँछ । सीमित मानिसलाई मात्रै धनी बनाउँछ ।’