तनहुँवासीको विश्वास डगमगाउन दिदैन, गर्विलो काम गर्छु : डा. स्वर्णिम वाग्ले

तनहुँवासीको विश्वास डगमगाउन दिदैन, गर्विलो काम गर्छु : डा. स्वर्णिम वाग्ले

कहिरन समाचार

काठमाडौँ । तनहुँ-१ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा. स्वर्णिम वाग्लेलाई प्रमाणपत्र प्रदान गरिएको छ । मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले आज आयोजित कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट निर्वाचित डा. वाग्लेलाई प्रमाणपत्र प्रदान गरेका हुन् ।

आज सम्पन्न मतगणनाअनुसार डा. वाग्ले ३४ हजार नौ सय ११ मत प्राप्त गरी निर्वाचित भए । उक्त अवसरमा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा. वाग्लेले तनहुँवासीले गर्व गर्न लायक सांसद बनेर देखाउने प्रतिबद्धता व्यक्त गरे ।

उनले जिल्लाको विकासका साथै देशका मुद्दा सम्बोधनका लागि आफूले भूमिका खेल्ने उल्लेख गरे । तनहुँवासीको विश्वास र भरोसालाई डगमगाउन नदिने बताउँदै उनले भने, ‘जनताका अपेक्षा न्याय गर्नेछु ।’

डा. वाग्लेले जिल्लाका सबै राजनीतिक दलसँग सहकार्य र समन्वय गरेर काम गर्ने बताए । नीति, क्षमता सही भएको खण्डमा देश विकास सम्भव रहेको जनाउँदै सामूहिक प्रयासलाई इमानदारीपूर्वक निभाउने बताए । देश विकास गर्ने हुटहुटीले आफूहरू आएको जनाउँदै उनले भने, ‘सबैको सामूहिक प्रयत्नबाट मात्र देश विकास हुन्छ ।’