महानगरले १५ दिनपछि उठायो सिंहदरबारको फोहोर

महानगरले १५ दिनपछि उठायो सिंहदरबारको फोहोर

कहिरन समाचार

काठमाडौँ । सिंहदरबारमा थुप्रिएको फोहोर १५ दिनपछि काठमाडौं महानगरपालिकाले उठाउन थालेको छ । गत वैशाख ८ गते सर्वोच्च अदालतले महानगरलाई सिंहदरबारभित्रको फोहोर तीन दिनभित्र उठाइसक्न आदेश दिएको थियो ।

अधिवक्ता पदमबहादुर श्रेष्ठले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासले सिंहरदरबारभित्रको क्षेत्र, राष्ट्रपतिको कार्यालय शितल निवास र प्रधानमन्त्री कार्यालय रहेको क्षेत्रका फोहोर उठाई अविलम्ब विसर्जन गर्न आदेश दिएको थियो ।

महानगरपालिकाका मेयर बालेन्द्र शाहले संघीय सरकारले आफूहरूसँग समन्वय नगरेको भन्दै गत चैत २४ गतेदेखि ती क्षेत्रको फोहोर नउठाउन निर्देशन दिएका थिए ।

महानगरले सिंहदरबारको फोहोर उठाउन थालेसँगै मेयर साहले सर्वोच्चको आदेश अन्य निकायले पनि पालान गर्नुपर्ने बताएका छन् । ‘अदालतका फैसला, आदेश र निर्देशनहरु काठमाडौं महानगरले मात्रै होइन, संघीय सरकार लगायत सबैले दृढतापूर्वक पालना गर्न आवश्यक छ,’ सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन् ।

उनले सर्वोच्च अदालतको आदेश लगायत आम महानगरवासीको पक्षमा सम्मानित सर्वोच्च अदालतबाट भएका विभिन्न आदेशहरुको पालना नभएको विषयमा पनि सम्बन्धित सबैले उत्तिकै जिम्मेवारीबोध गर्न जरुरी रहेको पनि बताएका छन् ।