महोत्तरीमा प्रदर्शनकारी र प्रहरीबीचको झडपमा ५ सुरक्षाकर्मी घाइते

महोत्तरीमा प्रदर्शनकारी र प्रहरीबीचको झडपमा ५ सुरक्षाकर्मी घाइते

कहिरन समाचार

काठमाडौं । महोत्तरीमा प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा ५ जना सुरक्षाकर्मी घाइते भएका छन् । यही वैशाख ८ गते गौशाला नगरपालिका-४ मल्हनिया पोखरीकी २५ वर्षीया आरतीदेवीको मृत्युको विषयलाई लिएर प्रदर्शन भएको थियो ।

प्रदर्शन उग्र बनेपछि स्थिति नियन्त्रणमा लिने क्रममा जनपद प्रहरीका २ जना र सशस्त्र प्रहरीका ३ जना घाइते भएका महोत्तरीका प्रवक्ता एवं प्रहरी निरीक्षक महेश खड्काले जानकारी दिए । स्थिति नियन्त्रणमा लिन ९ राउण्ड हवाई फायर र १३ सेल अश्रुग्याससमेत प्रयोग गर्नुपरेको प्रहरी निरीक्षक खड्काले बताए ।

आरतीदेवी विष पिएको अवस्थामा भेटिएकी थिइन् । उनको मृत्यु शंकास्पद भएको भन्दै उनका माइतीपक्षले प्रदर्शन गरेका हुन् । उक्त घटनामा प्रहरीले मृतकका पति उमेश साहलाई पक्राउ गरिसकेको छ तर मृतकका आफन्तले साहको परिवारका अन्य सदस्यहरुलाई पनि पक्राउ गर्नुपर्ने माग राख्दै प्रदर्शन गरेका हुन् ।

प्रदर्शनका क्रममा उनीहरुले आरोपी साहको घर नै तोडफोड गर्ने र अन्य सदस्यसमेत असुरक्षित भएपछि बल प्रयोग गर्नुपरेको प्रहरी निरीक्षक खड्काले स्पष्ट पारे ।

घटनामा उनका श्रीमानलाई पक्राउ गरी अनुसन्धान भइरहेकाले अन्य व्यक्तिको संलग्नता खुलेमा पक्राउ गरिने प्रहरीले जनाएको छ तर प्रदर्शनकारीहरूले मृतकका सासू, नन्द, जेठाजुलगायतलाई पक्राउ गरी घटनाको छानबिन गर्नुपर्ने माग राखेका छन् ।

उनीहरुले टायर बालेर सडक अवरुद्ध गरेका थिए । अहिले प्रहरी प्रशासनसहित पीडित र पीडकपक्षबीच छलफल भइरहेको छ ।