कर्णाली सरकारमा कांग्रेसका तीन मन्त्री नियुक्त

कर्णाली सरकारमा कांग्रेसका तीन मन्त्री नियुक्त

कहिरन समाचार

काठमाडौं । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले नेपाली कांग्रेसका तीन जनालाई मन्त्रीमा नियुक्त गरेका छन् । कांग्रेसबाट वेदराज सिंह, खड्गबहादुर पोखरेल र कृष्णकुमार बीसी मन्त्री बनेका छन् ।

नवनियुक्त मन्त्रीले बिहीबार शपथ लिएका छन् । प्रदेश प्रमुख तिलक परियारले उनीहरूलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।

आर्थिक मामिला तथा योजना मन्त्रीमा सिंह, सामाजिक विकासमन्त्रीमा पोखरेल र वन तथा वातावरण मन्त्रीमा बीसी नियुक्त भएका हुन् ।

त्यस्तै, यसअघि भौतिक पूर्वाधार राज्यमन्त्री रहेकी उर्मिला विश्वकर्मा ऊर्जामन्त्री बनेकी छन् । मन्त्री विश्वकर्माले पनि बिहीबार पद तथा गोपनीयताको शपथ लिएकी छन् ।

कांग्रेसलाई सरकारमा सहभागी गराउन एक मन्त्रालय टुक्र्याइएको हो । वैशाख ५ मा बसेको मन्त्रिपरिषद् बैठकले भौतिक पूर्वाधार, ऊर्जा र जलस्रोत मन्त्रालयलाई टुक्र्याएर ऊर्जा मन्त्रालय बनाउने निर्णय गरेको थियो ।

यसअघि नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले)को सरकारले ऊर्जालाई भौतिक पूर्वाधार मन्त्रालयमा गाभेको थियो ।