वेदान्तले नेपालबाट दुई हजार मेगावाट विद्युत् खरिद गर्ने

वेदान्तले नेपालबाट दुई हजार मेगावाट विद्युत् खरिद गर्ने

कहिरन समाचार

काठमाडौँ । भारतको वेदान्त लिमिटेडले नेपालबाट दीर्घकालीन समयका लागि दुई हजार मेगावाट विद्युत् खरिद गर्ने भएको छ । वेदान्तले नेपाल पावर एक्सचेन्ज लिमिटेड (नेपेक्स)मार्फत आगामी पाँच वर्षमा सोबराबरको विद्युत् किन्ने आशयपत्र बुधबार पठाएको छ ।

नेपेक्सका प्रबन्ध निर्देशक आशिष गर्गका अनुसार वेदान्तले दीर्घकालीन रूपमै नेपालबाट विद्युत् किन्न लागेको हो । भारतले ०४५ सम्म शून्य कार्बनमा जाने विश्वव्यापी लक्ष्य प्राप्त गर्न सहयोग पुग्ने गरी नेपालबाट क्लिन इनर्जी खरिद गर्न लागेको वेदान्तका प्रमुख कार्यकारी अधिकृत (पावर) विभव अग्रवालले भिडियो सन्देशमार्फत जानकारी दिए ।

मंगलबार भएको पावर समिटको उद्घाटन समारोहमै भारतको मणिकरण पावर कम्पनीसँग नेपालका विभिन्न आयोजनाको २०० मेगावाट विद्युत् खरिद–बिक्री गर्ने गरी समझदारी गरिसकेको छ । योसँगै पावर समिटले निजी क्षेत्रमार्फत भारतमा २२ सय मेगावाट बिजुली बिक्री गर्ने आधार तय गरेको छ ।

नेपेक्सका प्रबन्ध निर्देशक आशिष गर्गले यो एउटा महत्वपूर्ण उपलब्धि भएको बताए । ‘निजी क्षेत्रबाट भारतमा २२ सय मेगावाट विद्युत् बिक्री गर्ने गरी समझदारी भएको छ । यो पावर समिटको मात्रै नभएर नेपालकै लागि महत्वपूर्ण उपलब्धि हो,’ उनले बताए ।

हाल सरकारी स्वामित्वको नेपाल विद्युत् प्राधिकरणले मात्रै भारतमा विद्युत् व्यापार गर्दै आएको छ । अहिले निजी क्षेत्रले पनि भारतमा विद्युत् बिक्री गर्ने गरी बिटुबी समझदारी भएको हो । तर, निजी क्षेत्रले विद्युत व्यापार गर्ने कानुनी व्यवस्था नहुँदा त्यो कार्यान्वयन हुनेमा भने चुनौती देखिएको छ । साथै, सरकारलाई कानुनी व्यवस्था गर्नुपर्ने दबाबसमेत सिर्जना भएको छ ।

सरकारले नयाँ ऐन ल्याएर निजी क्षेत्रलाई विद्युत् व्यापार गर्न दिने प्रयास गर्दै छ । तर, त्यो अझै सफल भएको छैन ।