आज आमाको मुख हेर्ने पर्व, मातातीर्थमा मेला

आज आमाको मुख हेर्ने पर्व, मातातीर्थमा मेला

कहिरन समाचार

काठमाडौँ । आमाको मुख हेर्ने पर्व आज मनाइँदैछ । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा आमालाई सम्मान गरी आमाको मुख हेर्ने गरिन्छ ।

आमालाई मीठा मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ यो पर्व मनाइने गरिएको छ । आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने शास्त्रीय परम्परा छ।

छोराछोरीले आज बिहानै उठी नुहाएर आमालाई राम्राराम्रा लुगा लगाउने र मीठामीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ । आमा दिवंगत भइसकेकाहरूले भने तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन् ।

सनातन वैदिक शास्त्रमा प्रत्येक नरनारीले जीवनमा देवऋण, मनुष्यऋण र पितृऋण तिर्नैपर्छ भनिएको छ । वैदिक सनातन धर्म ग्रन्थमा ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ अर्थात् जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि ठूला एवं प्यार हुन् भनी आमा र जन्मभूमिको महत्व दर्शाइएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य देवमणि भट्टराईले बताए ।

यस अवसरमा चन्द्रागिरी नगरपालिकास्थित मातातीर्थमा आज मेला लाग्ने गर्छ । मातातीर्थमा मेलाको सम्पूर्ण तयारी पूरा भएको नगर प्रमुख घनश्याम गिरीले जानकारी दिए ।

यस वर्ष गुरु अस्त भएकाले र विश्वका केही देशमा सूर्यग्रहण देखिने भएकाले आमाको मुख हेर्नु नहुने भनी गरिएको प्रचार सही नभएको समितिले जनाएको छ ।

यसैगरी प्रत्येक वर्ष वैशाखकृष्ण औँसीका दिन मनाइने आमाको मुख हेर्ने अर्थात् मातृ सम्मान दिवसका लागि वृहस्पति अस्तले कुनै फरक नपर्ने पनि समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले बताए ।