संवैधानिक परिषद् बैठक निष्कर्षविहिन

संवैधानिक परिषद् बैठक निष्कर्षविहिन

कहिरन समाचार

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको पहिलो संवैधानिक परिषदको बैठक बिनानिश्कर्ष टुंगिएको छ ।

सिंहदरबारमा बसेको बैठकमा प्रधानन्यायाधीश नियुक्तिका विषयमा छलफल भएपनि कुनै निर्णय हुन नसकेको राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सेनाले जानकारी दिए ।

आजको बैठकमा सर्वसम्मतरुपमा प्रधानन्यायाधीश नियुक्ती प्रक्रिया अघि बढाउने, संसदीय समिति बनाउने, आवश्यक कानुन पारित गर्ने प्रस्तावका साथ प्रधानमन्त्री प्रचण्डले प्रस्ताव राखे पनि निर्णय हुन नसकेको बैठकपछि कानुनमन्त्रीसमेत रहेका उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए ।

चोलेन्द्रशमशेर जबरा अनिवार्य अवकाशमा गएपछि २७ मंसिर २०७९ देखि प्रधानन्यायाधीश पद रिक्त छ । हाल कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की छन् ।

प्रधानमन्त्री र सभामुखसहित प्रमुख तीन दलका शीर्षनेताबीच आइतबार भएको भेटमा सर्वाेच्च अदालतको रिक्त प्रधानन्यायाधीश पदमा संवैधानिक परिषद्को बैठकबाट सिफारिस गर्ने सहमति भएको थियो ।

सोही सहमतिका आधारमा प्रधानमन्त्री प्रचण्डले शुक्रबारका लागि बैठक बोलाउने तय गरे पनि संवैधानिक परिषदका सदस्य समेत रहेका राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना रुस भ्रमणका लागि आजै जानुपर्ने भएकोले आज बिहान बैठक बसेको थियो ।