घरजग्गाको कारोबारमा वृद्धि

घरजग्गाको कारोबारमा वृद्धि

कहिरन समाचार

काठमाडौँ । चैत महिनामा घरजग्गाको कारोबारमा वृद्धि भएको छ । चैत महिनामा ४९ हजार १५० वटा जग्गाको लिखत पास भएका छन् । यो लिखत पास चालु आर्थिक वर्ष २०७९/८०कै उच्च हो ।

बैंकहरुमा लगानीयोग्य पूँजी बढेसँगै लगानी बढेपछि घरजग्गाको कारोबारमा सुधार भएको हो । यससँगै गत बैशाख ५ गते बसेको मन्त्रीपरिष्दको बैठकले जग्गाको कित्ताकात खुलाउने निर्णय गरेको छ ।

गत असोजमा मासिक लिखत पास करिब २६ हजारसम्म झरेपछि पुनः सुस्त गतिमा वृद्धि हुँदै आएको थियो । भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार गत फागुनमा देशभर ४० हजार ७३४ कित्ता जग्गाको लिखत पारित भएका थए । चैत महिनामा भने झण्डै ९ हजारले बढेको छ ।

गत चैत महिनाको घरजग्गा कारोबारबाट सरकारले ४ अर्ब ५१ करोडभन्दा बढी राजस्व संकलन गरेको छ । गत असोजमा २५ हजार ७ सय वटा मात्रै लिखत पास हुँदा यस्तो राजस्व २ अर्ब ५६ करोडसम्म झरेको थियो ।

गत वर्ष चैत महिनामा लिखत पासको संख्या ७० हजार ८२९ थियो । तर, त्यसपछि ह्वात्तै घटेको जग्गाको कारोबार चालु आर्थिक वर्षमा मासिक २६ हजारसम्म लिखत पास हुने अवस्थासम्म झरेको थियो ।
गत माघ महिनामा ४१ हजार ८६, पुसमा ३८ हजार ८३१, मंसिरमा २९ हजार १८४, कात्तिकमा २७ हजार ९३९, असोजमा २५ हजार ७८९र भदौमा ३४ हजार ७२० लिपत पारित भएको थियो ।

गत साउनमा ३३ हजार ७३४, असारमा ४७ हजार २७, जेठमा ५४ हजार ५११ र वैशाखमा ४४ हजार ८०३ वटा जग्गाका लिखत पास भएको विभागको तथ्यांकमा देखिन्छ । यसले वैशाखबाट घट्न थालेको घरजग्गा कारोबार अब विस्तारै बढ्दै जाने संकेत देखिएको छ ।