माग सम्बोधन नगरे सिंहदरबार ठप्प पार्ने कर्मचारी संगठनको चेतावनी

माग सम्बोधन नगरे सिंहदरबार ठप्प पार्ने कर्मचारी संगठनको चेतावनी

कहिरन समाचार

काठमाडौँ । निजामती कर्मचारीहरूका युनियनहरूले सरकारको प्रशासनिक केन्द्र सिंहदरबार ठप्प पार्ने चेतावनी दिदै आन्दोलन गर्ने घोषणा गरेका छन् ।

ट्रेड युनियनहरूले यही वैशाख १९ र २० गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई एसएमएस पठाउने कार्यक्रम पनि सार्वजनिक गरेका छन् । साथै वैशाख २१ गते सिंहदरबार कार्यस्थल रहेका कर्मचारीहरू कार्यालयमा अनुपस्थित रहने पनि उनीहरूको आन्दोलनका कार्यक्रममा उल्लेख छ ।

कर्मचारी युनियनका सचिव प्रकाश भट्टराईले कर्मचारीहरूले उठाएका माग सरकारले सम्बोधन नगरेकोले आन्दोलनका कार्यक्रम सार्वजनिक गर्नुपरेको बताए । प्रस्तावित संघीय निजामती सेवा ऐनमा आफूहरूले उठाउँदै आएका माग समावेश नगरिएकोले आन्दोलन गर्न लागिएको उनले बताए ।

कर्मचारीहरूले उठाएका वृत्ति विकास, सेवा तथा सुरक्षालगायतका माग सम्बोधन हुनुपर्ने उनको भनाइ छ । कर्मचारीहरूका माग सम्बोधन गरी सरकारले चालु अधिवेशनबाटै संघीय निजामती सेवा ऐन ल्याउनुपर्ने पनि उनले बताए ।

निजामती सेवामा तहगत प्रणाली लागु गर्ने कि नगर्ने, प्रदेश सचिव र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत संघीय निजामती सेवाका कर्मचारी हुने कि प्रदेश वा स्थानीय तहका कर्मचारी हुने भन्नेलगायत विषयमा राजनीतिक सहमति बनिसकेको छैन ।