‘गृह प्रशासन सुधार कार्ययोजना’ ल्याइँदै

‘गृह प्रशासन सुधार कार्ययोजना’ ल्याइँदै

कहिरन समाचार

काठमाडौँ । गृह मन्त्रालयले शान्ति, सुरक्षा र सेवालाई अझ प्रभावकारी बनाउन नयाँ ‘गृह प्रशासन सुधार कार्ययोजना’ ल्याउने तयारी थालेको छ । विगतमा सार्वजनिक गरिएको कार्ययोजनालाई थप परिस्कृति गर्दै सरकारको न्यूनतम साझा कार्यक्रमसमेतलाई समेट्ने गरी कार्ययोजना ल्याउन लागिएको मन्त्रालयले जनाएको छ ।

विगतमा ल्याइएर पूरा नभएका राम्रा योजनालाई समावेश गर्दै थप योजना अघि बढाइने गरी कार्ययोजना सार्वजनिक हुने जनाइएको छ । यसका लागि भने केही समय लाग्ने छ । शुसासन र सेवालाई मुख्य कार्यभार मानेर मन्त्रालयले नयाँ कार्ययोजना ल्याउन लागेको उपप्रधानमन्त्रीसमेत रहेका गृहमन्त्री नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

उनका अनुसार यसपटकको कार्ययोजनामा सुरक्षाको सुदृढिकरण, राष्ट्रिय एकता, जनयुद्ध र जनआन्दोलनको उपलब्धिलाई संस्थागत गर्दै संविधानको रक्षा, शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्दै सङ्क्रमणकालीन न्यायका कार्यभार पूरा गरी मुलुकलाई रुपान्तरणसहितको आर्थिक विकासमा अघि बढाउने लक्ष्यसहित कार्ययोजना ल्याइनेछ ।

अहिले कार्ययोजना निर्माणका लागि आवश्यक सुझाव सङ्कलनको काम जारी रहेको र मातहतका निकायबाट सूचना लिने काम भइरहेको गृहसचिव विनोदप्रकाश सिंहले जानकारी दिए। उनले विसं २०७८ मा जारी भएको कार्ययोजनालाई थप परिस्कृति र परिमार्जन गर्दै नयाँ विषयसमेत समेटेर कार्ययोजना ल्याइने बताए । त्यसका लागि आवश्यक तयारी भइरहेको पनि उनले जानकारी दिए । पहिलो चरणमा उनले सोमबार पत्रकारहरुसँग आवश्यक सुझाव मागेका थिए ।

नेपाल सरकारको (कार्य विभाजन) नियमावली २०७४ बमोजिम गृह मन्त्रालयको कार्य क्षेत्रमा आन्तरिक सुरक्षा, तथा शान्ति सुव्यवस्थासम्बन्धी नीति कानुन, मापदण्ड, योजना, कार्यान्वयन र नियमन हातहतियार खरखजाना प्रयोगसम्बन्धी नीति कार्यान्वयन, नियन्त्रण विदेशी नागरिकको नियमन तथा नियन्त्रण रहेको छ । मुख्यतः शान्ति सुरक्षा, नागरिकतासम्बन्धी नीति कानुन, कार्यान्वयन र नियमन, विपद् व्यवस्थापन, अध्यागमन राष्ट्रिय परिचयपत्र व्यवस्थापन, लागूऔषध नियन्त्रण, सीमा प्रशासन अपराध अनुसन्धान, सङ्गठित अपराध नियन्त्रण, मानवअधिकार संरक्षण तथा अन्य मन्त्रालयको कार्यविभाजनमा नपरेका विषयगत कार्यहरु पनि गृहमन्त्रालयको कार्यभित्र पर्छ ।