जग्गा कित्ताकाट खोल्ने निर्णय सच्याउन सांसद सुब्बाको माग 

जग्गा कित्ताकाट खोल्ने निर्णय सच्याउन सांसद सुब्बाको माग 

कहिरन समाचार

काठमाडौँ । नेकपा (एमाले)की सांसद सरस्वती सुब्बाले जग्गाको कित्ताकाट खोल्ने निर्णय फिर्ता लिन सरकारसँग माग गरेकी छन् । बुधबार प्रतिनिधि सभा बैठकमा कित्ताकाट खोल्दा जग्गाको खण्डीकरण बढ्ने र कृषि भूमि समाप्त हुने भन्दै सुब्बाले यस्तो माग गरेकी हुन् ।

“कित्ताकाटले जमीनको खण्डीकरण बढाउँछ । कृषिभूमि समाप्त पार्ने बाटो खोल्छ । प्राकृतिक जोखिम न्यूनीकरण र सीमान्तीकृत समुदायको समस्या समाधानको बाटो बन्द गरिदिन्छ,” सुब्बाले भनिन्, “जमीनको दलालीकरण बढाउँछ । त्यसकारण कित्ताकाट खोल्ने निर्णय सच्याउनुपर्छ ।”

२०७९ जेठमा स्थानीय भू-उपयोग योजना बनाउन भन्दै सरकारले कित्ताकाट रोक्का गरेको थियो । “धेरै स्थानीय तहले भू-उपयोग योजना बनाउन लागेका वेला पुरानै अवस्थामा कित्ताकाट खोल्नु गलत छ,” सुब्बाले भनिन् ।

वैशाख ५ गते बसेको मन्त्रिपरिषद् बैठकले कित्ताकाट खोल्ने निर्णय गरेको थियो ।