एसीसी प्रिमियर कपमा नेपालको विजयी सुरुवात

एसीसी प्रिमियर कपमा नेपालको विजयी सुरुवात

कहिरन समाचार

काठमाडौं । एसीसी प्रिमियर कपमा नेपालले सुखद विजयी सुरुआत गरेको छ । एसीसी प्रिमियर कप अन्तर्गतको समूह ए को पहिलो खेलमा नेपालले मलेसियालाई ६ विकेटले हराएको छ ।

मलेसियाले दिएको २ सय ३६ रनको लक्ष्य नेपालले ३६.२ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि कुशल मल्ल र भिम सार्कीले अर्धशतकीय ईनिङ खेले ।

मल्लले ४० बलमा ५ चौका र ५ छक्काको सहयोगमा अविजित ७० रन बनाए । भिमले ९७ बलमा ५ चौका सहयोगमा ७१ रन बनाए ।

भिम र मल्लले चौथो विकेटका लागि १ सय १२ रनको सानदार साझेदारी गरे । कप्तान रोहितकुमार पौडेलले ४२ रन बनाउँदा ओपनर कुशल भुर्तेलले ३८ रन बनाए ।

मलेसियाका लागि विजय उन्नी,विरनदिप सिंह,मोहम्मद वाफिक र रिजवान हैदरले समान १/१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३५ रन बनायो ।

मलेसियाका लागि अहमद फैजले सर्वाधिक ७६ रनको योगदान दिए । उनले ९५ बलमा ८ चौका र १ छक्का प्रहार गरे ।

विरन्दिप सिंहले ४६ रन बनाउँदा ओपनर मोहम्मद अमिर १७ रनमा आउट भए । दोस्रो विकेटका लागि फैज र सिंहले १ सय १६ रनको शतकीय साझेदारी गरे ।

३३.२ ओभरमा सन्दीप लामिछानेले शतकीय साझेदारी तोडेका थिए । अहमद फैजको विकेटसँगै उक्त साझेदारी तोडिएको थियो ।

विजय उन्नी १२ मा आउट हुँदा सायद अजिज १३ रन बनाए । खिजार ह्यायातले २२ तथा साजरुल इद्रासले अविजित १५ रन बनाए ।

यता नेपालका लागि सोमपाल कामी र सन्दीप लामिछानेले समान ३र३ विकेट लिए । ललित नारायण राजवंसी २ तथा गुल्सन झाले १ विकेट लिए ।

१० राष्ट्र सहभागी यस प्रतियोगिताको समूह ए मा रहेको नेपाल २ अंक सहित शीर्ष स्थानमा रहेको छ । नेपालले अर्को खेल वैशाख आठ गते ओमानविरुद्ध खेल्ने छ ।

यस्तै समूह बी अन्र्तगत अर्को खेलमा हङकङले सिंगापुरलाई ८ विकेटले हराएर विजयी सुरुवात गरेको छ ।

सिंगापुरले दिएको १ सय ७५ रनको लक्ष्य हङकङले ३३ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो ।

हङकङका लागि बाबर हायातले ९४ बलमा १ सय ८ रनको शतकीय ईनिङ खेले । उनले १० चौका र ६ छक्का प्रहार गरे ।

निजाकत खानले ८९ बलमा ३ चौका र १ छक्काको सहयोगमा ५१ रनको अर्धशतकीय ईनिङ खेले । बाबर र निजाकतले तेस्रो विकेटका लागि अविजित १ सय ३२ रनको साझेदारी गरे ।

सिंगापुरका लागि आत्रिय दत्त र रमेश कालिमुथुले समान १/१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सिंगापुरले ४२.१ ओभरमा अलआउट हुदै १ सय ७४ रन बनायो ।