लालबन्दीबाट ठूलो परिमाणमा नक्कली नोट बरामद

लालबन्दीबाट ठूलो परिमाणमा नक्कली नोट बरामद

कहिरन समाचार

सर्लाही । सर्लाहीको लालबन्दीबाट प्रहरीले ठूलो परिमाणमा नक्कली नोट बरामद गरेको छ । मंगलबार बिहान लालबन्दी नगरपालिका-७, स्थित भित्री गल्लीबाट एक हजार दरका पाँच सय ३० थान (पाँच लाख तीस हजार) नक्कली नोट बरामद भएको हो ।

कसैले राति नै फालेको अवस्थामा स्थानीयले कालो ब्यागमा पैसा देखेपछि प्रहरीलाई खबर गरेका थिए । लगत्तै घटनास्थल पुगेको इलाका प्रहरी कार्यालय लालबन्दीको टोलीले उक्त नक्कली नोट बरामद गरेको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको छ ।

उक्त नक्कली नोट कहाँबाट कसले ल्यायो रु किन फालेर भाग्यो भन्ने खुलेको छैन । घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यलय लालबन्दीका प्रमुख डिएसपी सान्तराम कार्कीले जानकारी दिए । जिल्लामा पछिल्लो समय पाँच सय र एक हजार दरका नक्कली नोट निरन्तर फेला परिरहेको छ ।

गत एक महिनाको अन्तरमा जिल्लाका विभिन्न स्थानबाट साढे आठ लाखको हाराहारीमा नक्कली नोट बरामद भएको जिल्ला प्रहरीका एसपी नरेशराज सुवेदीले जानकारी दिए । आपराधिक घटनामा संलग्नहरूले आपराधिक क्रियाकलाप प्रयोजनका लागि यस्ता पैसा ल्याएको हुन सक्ने एसपी सुवेदीको भनाइ छ ।

सर्लाही प्रहरीले पछिल्लो समय मिसनकै रूपमा नक्कली नोट कारोबार गर्ने गिरोहको पहिचान र खोजी सुरु गरेका कारण यसरी पैसा फलेर भाग्ने कार्य भएको उनले बताए । जिल्लामा नक्कली नोट पटक–पटक बरामद भए पनि यस्तो नोट बाहिरबाट ल्याउने गरेको आशंका प्रहरीले गरेको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको एसपी सुवेदीले बताए ।