मलेसियाले नेपाललाई दियो २३६ रनको लक्ष्य

मलेसियाले नेपाललाई दियो २३६ रनको लक्ष्य

कहिरन समाचार

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गतको समूह ‘ए’ को पहिलो खेलमा नेपाललाई मलेसियाले २ सय ३६ रनको लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३५ रन बनायो । मलेसियाका लागि अहमद फैजले सर्वाधिक ७६ रनको योगदान दिए । उनले ९५ बलमा ८ चौका र १ छक्का प्रहार गरे ।

विरन्दिप सिंहले ४६ रन बनाउँदा ओपनर मोहम्मद अमिर १७ रनमा आउट भए । दोस्रो विकेटका लागि फैज र सिंहले १ सय १६ रनको शतकीय साझेदारी गरे ।

३३.२ ओभरमा सन्दीप लामिछानेले शतकीय साझेदारी तोडेका थिए । अहमद फैजको विकेटसँगै उक्त साझेदारी तोडिएको थियो ।

विजय उन्नी १२ मा आउट हुँदा सायद अजिज १३ रन बनाए । खिजार ह्यायातले २२ तथा साजरुल इद्रासले अविजित १५ रन बनाए ।

यता नेपालका लागि सोमपाल कामी र सन्दीप लामिछानेले समान ३/३ विकेट लिए । ललित नारायण राजवंसी २ तथा गुल्सन झाले १ विकेट लिए ।

नेपालले अहिले जवाफी ब्याटिङ थालेको छ ।

प्रतियोगिताको समूह ‘बी’ अन्तर्गत मुलपानी मैदानमा भइरहेको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको सिंगापुरले हङकङ विरुद्ध ४२.१ ओभरमा सबै विकेट गुमाएर १७४ रन बनाएको थियो ।

हङकङले जवाफी ब्याटिङ सुरु गरिसकेको छ ।