प्रतिनिधिसभा बैठक बस्दै

प्रतिनिधिसभा बैठक बस्दै

कहिरन समाचार

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका तर्फबाट राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन पेश हुने कार्यसूचि छ ।

यस्तै राष्ट्रिसभाबाट सन्देशसहित प्राप्त अख्तियार दुरुपयोग अनुुसन्धान आयोग तेस्रो संशोधन विधेयक २०७७ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गर्ने तयारी छ ।

संसदमा दर्ता भएका महत्वपूर्ण विधेयक अघि नबढ्दा संसद बैठक सामान्य कार्यसूचीमा अल्झिँदै आएको छ । पहिलो अधिवेशन अन्तर्गत आज २४ वटा बैठक बस्दै गर्दा पनि संसदले एउटा पनि कानुन पास गर्न सकेको छैन ।

संसदमा संक्रमणकालीन न्याय, न्याय परिषद र सम्पत्ति सुद्धीकरणसम्बन्धी विधेयक दर्ता भएका छन् । प्रमुख दलहरुबीच सहमति भइनसकेकाले यी विधेयकमाथि छलफल अघि बढ्न सकेका छैनन् । जसका कारण संसद विजनेशविहीन बनेको छ ।