आयल निगमका पूर्वकार्यकारी निर्देशक खड्काविरुद्ध पक्राउ पुर्जी जारी

आयल निगमका पूर्वकार्यकारी निर्देशक खड्काविरुद्ध पक्राउ पुर्जी जारी

कहिरन समाचार

काठमाडौँ । नेपाल आयल निगम लिमिटेडका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्काविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । विशेष अदालतका न्यायाधीशहरू यमुना भट्टराई, बलभद्र बाँस्तोला र खुसीप्रसाद थारूको संयुक्त इजालसले सोमबार खड्काविरुद्ध पक्राउ पुर्जी जारी गर्न आदेश दिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २३ पुस ०७५ मा खड्कासहित ४ जनाविरुद्ध १८ करोड रुपैैंयाभन्दा बढी अकुत सम्पत्ति आर्जन गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो । सो मुद्दा सुनुवाइका लागि खड्कालाई पटकपटक ताकेता गर्दा पनि उपस्थित नभएपछि पक्राउ गरी इजलासमा हाजिर गराउन आदेश भएको हो ।

अख्तियारले सुरुमा खड्काविरुद्ध पेट्रोलियम पदार्थ भण्डारण गृहनिर्माणका लागि चार स्थान (झापा, सर्लाही, चितवन र रुपन्देही)मा जग्गा खरिद गर्दा ठूलो रकम भ्रष्टाचार गरेको आरोपमा छानबिन थालेको थियो । खड्काको नेतृत्वमा निगमले चार स्थानमा ७६ बिघा १४ कठ्ठा जग्गा कुल दुई अर्ब ३३ करोड ४० लाख रुपैयाँमा खरिद गर्ने निर्णय गरेको थियो ।

चलन चल्तीभन्दा तीन गुणा महँगोमा जग्गा खरिदको बिल बनाई धमाधम भुक्तानी गर्न थालेपछि अनियमितता बाहिर आएको थियो । त्यसपछि संसदीय छानबिन समितिले अनुसन्धान गरेपछि भ्रष्टाचार प्रमाणित भएको थियो । सो जग्गा खरिदमा १ अर्ब ६ करोड रुपैयाँ घोटाला भएको संसद्को तत्कालिन उद्योग बाणिज्य तथा श्रमसम्बन्धी उपसमितिले ठहर गरेको थियो।

जग्गा खरिदमा घोटाला पुष्टि भएपछि खड्कालाई सरकारले बर्खास्त गरेको थियो । तर, उनले सर्वोच्च अदालत गएर पद थमौती लिएका थिए । त्यसपछि सरकारले खड्कालाई जिम्मेवारीविहिन बनाएपछि उनले २५ जेठ ०७५ मा पत्रकार सम्मेलन गरेर राजीनामा दिएका थिए ।