मन्थलीमा बोलेरो दुर्घटना, पाँच जनाको मृत्यु

मन्थलीमा बोलेरो दुर्घटना, पाँच जनाको मृत्यु

कहिरन समाचार

काठमाडौं । रामेछापको मन्थली नगरपालिका–७ को कौछिनीमा बोलेरो दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ ।

मन्थली–७ स्थित कौछिनीतर्फ जाँदै गरेको बा ११ च ५५३ नं को बलेरो सडकबाट करिब एक सय मिटर तल खस्दा चारजनाको घटनास्थलमै र एकजनाको अस्पतालमा मृत्यु भएको हो ।

रामेछाप प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक होमबहादुर पराजुलीका अनुसार कौछिनीकी ८२ वर्षीया नन्दमाया भण्डारी, ६८ वर्षीया जेसुङ तामाङ, ४० वर्षीया ज्यानरानी तामाङ र सुनापाती गाउँपालिका १ दुम्सीकी ८ वर्षीया बालिका लाक्पा घिसिङको घटनास्थलमै मृत्यु भएको हो ।

चालक कौछिनीकै ५० वर्षका दलबहादुर आले मगरको भने उपचारकै क्रममा सामुदायिक अस्पतालमा मृत्यु भएको हो ।

अन्य १० जना घाइतेको जिल्लास्थित विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।