आर्थिक मन्दी र ब्याज वृद्धिले बन्द हुदै उद्योग–व्यवसाय

आर्थिक मन्दी र ब्याज वृद्धिले बन्द हुदै उद्योग–व्यवसाय

कहिरन समाचार

दाङ । आर्थिक मन्दीको असर उद्योग ब्यवसायमा देखिन थालेको छ । बजारमा लगानीको अभाव साथै कर्जामा उच्च ब्याजदरले उद्योग ब्यवसाय धरासाही भएसँगै पलायनको अवस्थामा छन् ।

जिल्लामा चालू आर्थिक वर्ष २०७९/८० को फागुन मसान्तसम्ममा २७३ उद्योग तथा फार्म बन्द भए । घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भएका उद्योग तथा वाणिज्यतर्फ उद्योग तथा फार्म बन्द भएका हुन् ।

कार्यालय प्रमुख लालबहादुर गुरुङका अनुसार बन्द भएका फार्म १३० उद्योगतर्फ र १४३ वाणिज्यतर्फका छन् । अधिकांशले व्यापारमा घाटा लागेको, परिवारका सदस्य विदेश गएकाले चलाउन नसक्ने, विदेश जाने तयारीमा रहेकालगायत कारण उल्लेख गरेको गुरुङले बताए । कार्यालयले बन्द गराउनुको कारण खोजी गर्न थालेको उनको भनाइ छ ।

‘पहिला फार्म बन्द गर्नुको कारण मौखिकरूपमा सोध्ने गरिए पनि अहिले लिखितरूपमा नै जानकारी माग्न थालेका छौं’, प्रमुख गुरुङले भने ।

विभिन्न समस्याले गर्दा उद्योगी तथा व्यवसायी विस्थापित हुने क्रम बढेको जिल्ला उद्योग वाणिज्य सङ्घका अध्यक्ष टङ्कसिंह बुढाथोकीले बताए । ‘दैनिक उद्योगी तथा व्यवसायी विस्थापित हुने क्रम बढदै गएको छ’, उनले भने ।

कोभिड–१९, आर्थिकमन्दी, घर भाडा एवं बैंकको ब्याज वृद्धिजस्ता कारणले विस्थापित हुने क्रम बढेको उनको भनाइ छ । सरकारले समयमै समस्याको समाधान नगरे अझ धेरै उद्योगी तथा व्यवसायी विस्थापित हुने अध्यक्ष बुढाथोकी बताउँछन् ।

‘व्यापार व्यवसाय दैनिक घट्दै गएको छ, बैंकको ब्याज बढेको छ । यसले धेरै समस्या निम्त्याएको छ’, उनले भने । घोराहीमा मात्र दुई सयभन्दा बढी सटर खाली भइसकेका छन् । यो क्रम निरन्तर बढिरहेको छ ।

तुलसीपुरमा क्षेत्रमा पनि उद्योगी तथा व्यवसायी विस्थापित हुने क्रम बढेको तुलसीपुर उद्योग वाणिज्य सङ्घका महासचिव विनील केसीले जानकारी दिए । तुलसीपुरमा सयभन्दा बढी उद्योगी तथा व्यवसायी विस्थापित भएका छन् । ‘उद्योगी व्यवसायीको यस क्षेत्रबाट अलग हुन खोजेको पाइएको छ’, उनले भने ।

देउखुरी क्षेत्रमा पनि उद्योगी तथा व्यवसायी विस्थापित हुने क्रम जारी रहेको देउखुरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष खगेश्वर खनालले जानकारी दिए । ‘भाडामा लगाइएका सटर खाली हुँदै गएका छन् । नयाँ सटर भाडामा जान सकेका छैनन्’, उनले भने ।