पसलमा आगलागी, चार गम्भीर घाइते

पसलमा आगलागी, चार गम्भीर घाइते

कहिरन समाचार

सल्यानमा एउटा किराना पसलमा आगलागी हुँदा पाँच जना घाइते भएका छन्।

घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ। एक जना भने कोहलपुरबाट डिस्चार्ज भएका छन्।

गम्भीर घाइते थप चार जनालाई बाँकेको कोहलपुरस्थित मेडिकल कलेजबाट थप उपचारका लागि भारतको लखनऊ रिफर गरिएको जिल्ला प्रहरी प्रमुख डिएसपी दामोदर केसीले  बताए।

कुमाख गाउँपालिका वडा नं. ४ भण्डारखोलास्थित अन्दाजी २४ वर्षीय शंकर रानाको किराना पसलमा गएराति ९ बजेतिर आगलागी हुँदा शंकरसहित स्थानीय २६ वर्षीय  यज्ञ राना, २१ वर्षीय जीवन राना, १८ वर्षीय क्षेत्रमनी राना र २० वर्षीय सञ्जीव शाह घाइते भएका थिए।

पाँच घाइते सबैलाई जिल्लामा प्रारम्भिक उपचारपछि थप उपचारका लागि गएराति नै बाँकेको कोहलपुर मेडिकल कलेजमा लगिएको थियो। तीमध्ये १८ वर्षीय क्षेत्रमनी राना मंगलबार डिस्चार्ज भएको सल्यानका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सन्तोष खनालले  बताए।

केहीबेर अगाडिमात्रै घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी पुगेको छ। आगलागीको कारण अझै खुलिनसकेको प्रहरी अधिकारीहरूले बताएका छन्।

डिएसपी केसीले वर्षाका कारण जाडो बढेको हुँदा न्यानोका लागि आगो बालेको हुन सक्ने र त्यहीबाट आगो सल्केको हुन सक्ने अनुमान गरे।

किराना पसल भित्र ग्यालिनमा पेट्रोल रहेको र आगो उक्त पेट्रोलमा सल्किएपछि आगो लागेको अनुमान भइरहेको उनले बताए।

घटनास्थलमा रहेका अर्का एक प्रहरी अधिकारीले भने जाडोमा किराना पसल आसपासका साथीहरू जमघट भई मदिरा सेवन गरेको हुन सक्ने र त्यही क्रममा चुरोटबाट पेट्रोलको ग्यालिनमा आगो सल्किएको हुन सक्ने आशंका भइरहेको जानकारी दिए।

आगोबाट किराना पसल पूर्ण रूपमा जलेर नष्ट भएको छ।

‘आगलागी कसरी भयो भन्नेबारे अझै खुलिसकेको छैन,’ प्रवक्ता खनालले भने, ‘हाम्रो टोली पुगेर अनुसन्धान गर्दैछ तथ्य कुरा आउन बाँकी छ।’

कच्ची तीन कोठे एक तले टिनले छाएको घरमा आगो सल्केपछि उनीहरू भाग्न सक्ने ठाउँहरू भने रहे पनि कसरी उनीहरू निस्कन सकेनन् भन्नेबारे पनि अनुसन्धान हुने प्रहरीले बताएको छ।

किराना पसलमा भएको आगलागीको क्षतिको पनि विवरण आउन बाँकी रहेको छ।