अलैंचीभन्दा महँगियो चिराइतो, प्रतिमन १० हजारले बढ्यो

अलैंचीभन्दा महँगियो चिराइतो, प्रतिमन १० हजारले बढ्यो

कहिरन समाचार

ताप्लेजुङ । पहाडी क्षेत्रको मुख्य आम्दानीको स्रोतका रूपमा रहेको अलैंचीभन्दा चिराइतोको मूल्य माथि पुगेको छ । अलैंची प्रतिमन ३५ हजार रूपैयाँ हुँदा चिराइतो हाल ४० हजार रूपैयाँमा कारोबार भइरहेको छ ।

चिराइतोको भाउ गत वर्षको तुलनामा प्रतिमन (४० किलो) १० हजार रूपैयाँ बढेको हो । गएको वर्ष प्रतिमन ३० हजार रूपैयाँका दरले कारोबार भएको थियो । भारत निर्यात हुँदै चिराइतो झापामा पुर्‍याउँदा प्रतिमन ३८ हजारदेखि ४० हजार रूपैयाँमा कारोबार हुने ताप्लेजुङका व्यवसायीले बताएका छन् ।

‘गत वर्ष ३० हजार रूपैयाँ प्रतिमन कारोबार भएको थियो। आजभोलि भाउ बढेर ३८ हजारदेखि ४० हजार रूपैयाँमा कारोबार भइरहेको छ’, सदरमुकाम फुङलिङका व्यवसायी गोविन्द बरालले भने ।

गत वर्ष १८ हजार रूपैयाँ हुँदै ३० हजारसम्म पुगेको मूल्य यो वर्ष फागुन लागेयता बढेर ४० हजारसम्म पुगेको हो । बरालका अनुसार हाल किसानबाट प्रतिमन ३२ हजारदेखि ३३ हजार रूपैयाँसम्ममा लिने गरिएको छ । चिराइतो संकलन र खेती गर्ने यहाँका किसानले घरैमा उक्त मूल्य पाइरहेको बरालले बताए ।

व्यवसायीका अनुसार चिराइतो सुकेको वा नसुकेको हेरेर मूल्यमा केही तलमाथि हुन सक्छ। झापाका व्यापारीले भन्दा भारतका व्यापारीले केही बढी मूल्य दिने गरेका छन् ।

‘कहिलेकाहीँ भारतका व्यापारी भेटिन्छन् । उनीहरूले बिर्तामोडका व्यापारीले दिने भन्दा एक हजार रूपैयाँ बढी दिन्छन्’, व्यवसायी बरालले भने ।

केही वर्ष अघिसम्म ओलाङ्चुङ्गोला हुँदै चीनको तीब्बतमा निर्यात हुने चिराइतो हाल टिपताला नाका बन्द रहेकाले बिर्तामोड हुँदै भारत निकासी हुँदै आएको छ ।

मूल्य वृद्धि भएसँगै चिराइतो संकलन र व्यावसायिक खेती गर्ने कृषक हर्षित बनेका छन्। लामो समयपछि चिराइतोको मूल्य एक्कासि बढेर अलैंचीभन्दा धेरै पुगेपछि यहाँका किसान हर्षित बनेका हुन् ।

यो वर्ष प्रतिमन ३२/३३ हजार रूपैयाँका दरले घरैबाट चिराइतो बेच्न पाउँदा खुसी भएको फक्ताङलुङ गाउँपालिकाको खेजेनिमका किसान अमरसिंह माबोहाङले बताए । व्यावासायिक खेती गर्दै आएका अमरसिंहले यो वर्ष आठ मनभन्दा बढी उत्पादन गरेका छन् । उतारचढाव आइरहने चिराइतोको मूल्य पछिल्लो समय सुधारिएकाले किसानलाई राहत मिलेको उनले बताए ।

लेलेपका बुद्धिमान राईले पनि चिराइतोको भाउ बढेर किसानलाई उत्साहित बनाएको बताए । हालको मूल्य कायम रहिराखे उच्च लगानीका साथ खेती गर्ने र किसानको लगानी खेर नजाने उनको भनाइ छ ।

आम्दानीका लागि पहाडी क्षेत्रका किसानले अलैंचीपछि चिराइतो खेती धेरै गर्दै आएका छन् । मूल्य नपाउँदा केहीले भने यसलाई निरन्तरता दिन सकेनन् ।

चिराइतोको मूल्य बढे पनि उत्पादन भने घटेको पाइएको छ । गत वर्षको तुलनामा यो वर्ष आधाजसो मात्र चिराइतो संकलन भएको व्यवसायीले बताएका छन् । गत वर्ष एक सय ५० मन चिराइतो संकलन गरेका व्यवसायी गोविन्द बरालले यो वर्ष मुस्किलले ७० मन पुर्‍याएको बताए ।

‘गत वर्षको तुलनामा संकलन कम छ। यसरी कम हुनुको कारण उत्पादन घटेर हो। संकलन र खेती गर्ने क्रम केही घट्दै गएको छ’, उनले भने ।

सिरिजङ्घा–७ खेवाङका व्यवसायी नरेन्द्र तिवारीले गत वर्षको तुलनामा आधा जसो मात्र चिराइतो संकलन भएको बताए । उनका अनुसार प्रायःले चिराइतो खेती छाडेका छन् । तर मूल्य बढेसँगै पुनः व्यावसायिक खेती गर्न किसान उत्सुक देखिएको उनले बताए ।

ताप्लेजुङमा वार्षिक ३५ हजार किलो चिराइतो संकलन गर्न सकिने डिभिजन वन कार्यालय ताप्लेजुङले जनाएको छ । उक्त कार्यालयका अनुसार संकलक तथा व्यवसायीले भने आधा जसोको मात्र पुर्जी लिने गरेको तथ्यांकले देखाएको छ ।

उच्च पहाडी भेगमा पाइने विभिन्न जडीबुटीमध्ये चिराइतो पनि मुख्य हो । समुद्री सतहबाट एक हजार दुई सयदेखि तीन हजार मिटरको उचाइमा पर्ने भिरालो तथा खुला जमिनमा चिराइतो पाइन्छ । असोजमा पूर्ण रूपले फुलिसक्ने चिराइतो फूल परिपक्व भएपछि उखेलिन्छ ।

भूगोल हेरी मंसिरदेखि चैतसम्म चिराइतो संकलन हुन्छ । प्रायले जंगलमा गएर संकलन गर्छन् भने केहीले यसको व्यावसायिक खेती गर्दै आएका छन् । खेती गर्नेले जंगल फाँडेर आगो लगाई चिस्यान भएको समय पारेर बीउ छर्छन् । बीउ छरेको तीन वर्षमा उखेल्न उपयुक्त हुने गरी चिराइतो फस्टाउने किसान बताउँछन् ।