जबरजस्ती करणी गर्ने तीन जना व्यक्ति पक्राउ

जबरजस्ती करणी गर्ने तीन जना व्यक्ति पक्राउ

कहिरन समाचार

घोराही । दाङमा जबरजस्ती करणी गर्ने तीनजना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका-१८ का ३४ वर्षीय विराज लम्साल र घोराही उपमहानगर-१७ का ३० वर्षीय निर्मल चौधरी र २३ वर्षीय मनोज चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रहरीका अनुसार शुक्रबार लम्सालले ४ वर्षीया बालिकालाई ललाई फकाई गरी पैसा दिन्छु भनी १० रुपैयाँ दिएर जबरजस्ती करणी गरी बालिकालाई बेहोस अवस्थामा छोडी भागेका थिए । पीडित बालिकाका आमाबुवा बंगलाचुली गाउँपालिका-८ मा लेबरको काम गर्दै आएको र लम्साल पनि काम गर्न शुक्रबार आएको अवस्थामा जबरजस्ती करणी गरी पीडितलाई बेहोस अवस्थामा छोडी भागेका थिए । पीडितकी आमाले खोजतलास गर्दै जाने क्रममा बालिकालाई बेहोस अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरिएको थियो ।

लम्साललाई प्रारम्भिक अनुसन्धान पूरा गरी जबरजस्ती करणी कसुर शीर्षकमा आइतबार दाङ जिल्ला अदालतबाट ५ दिनको म्याद थप भई उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी वीरबहादुर ओलीले जानकारी दिए ।​

यसैगरी प्रहरीले २९ वर्षीया महिलालाई शुक्रबार राति साढे १ बजेतिर पीडितका श्रीमान्‌लाई कुटपिट गरी सामूहिक जबरजस्ती करणी गरेको भन्ने आरोपमा शनिबार निर्मल र मनोजलाई पक्राउ गरेको हो ।

विगत ३ महिनाअघि पीडित आफ्ना श्रीमान्‌को गोडाको उपचार गर्न राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आएकी थिइन् । श्रीमान्‌को उपचार गर्दा पैसा सकिएपछि दुबैजना माग्दै खाँदै गर्दा बिहीबार घोराही-१७ बेलभारस्थित गजु चौधरीको घर नजिक पुगेका थिए ।

रात परिसकेकाले दुबै श्रीमान् श्रीमती चौधरीको घरको आँगनमा सुतिरहेको अवस्थामा निर्मल र मनोज आई पीडितका श्रीमान्‌लाई कुटपिट गरी लतार्दै २५ मिटर पर लगेर दुबैजनाले सामूहिक जबरजस्ती करणी गरेको भन्ने आरोपमा उनीहरूलाई पक्राउ गरिएको एसपी ओलीको भनाइ छ ।

दुबैजनालाई पक्राउ उनीहरूउपर सामूहिक जबरजस्ती करणी अन्तर्गत कसुर मुद्दा दर्ता गरिएको छ । आइतबार दाङ जिल्ला अदालतबाट पहिलो पटक ५ दिनको म्याद थप अनुमति पाएको र उनीहरूमाथि थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।