मुल्यवृद्धि आकाशियो, आयात र निर्यात दुवै घट्यो

मुल्यवृद्धि आकाशियो, आयात र निर्यात दुवै घट्यो

कहिरन समाचार

काठमाडौँ । चालु आर्थिक वर्षको ७ महिनामा बजार महँगी थप चुलिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार, वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्यवृद्धि दर माघमा ७.८८ प्रतिशत पुगेको छ । यो गत वर्षको यही अवधिमा ६.२४ प्रतिशत थियो ।

खाद्य तथा खाद्यजन्य पदार्थको मूल्यवृद्धि १२.३९ प्रतिशत भएको केन्द्रीय बैंकले जनाएको छ । युक्रेन-रुस युद्धपछि गत वर्षदेखि नै अन्तर्राष्ट्रिय बजारमा खाद्यान्न, गेडागुडी, तेल आदिको मूल्य बढेको छ । यसको प्रभावस्वरुप नेपाली बजारमा पनि खाद्यवस्तुको भाउ उकालो चढेको हो ।

केन्द्रीय बैंकको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनका अनुसार, खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ६.१९ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ९.२२ प्रतिशत रहेको छ ।

सर्वाधिक धेरै रेस्टुरेण्ट तथा होटल उप-समूहको वार्षिक बिन्दुगत मूल्य १५.२४ प्रतिशतले बढेको छ । सुर्तीजन्य पदार्थको मूल्य १०.८३ प्रतिशत, मदिराजन्य पेय पदार्थको मूल्य ८.७८ प्रतिशत र मरमसलाको मूल्य ८.०४ प्रतिशतले बढेको छ ।

त्यसैगरी, यातायातको मूल्य १५.५८ प्रतिशत र स्वास्थ्य सेवाको मूल्य १०.३९ प्रतिशतले बढेको छ । घरायसी उपयोगका वस्तुको मूल्य ९.७८ प्रतिशत र फर्निचरको मूल्य ९ प्रतिशतले बढेको छ ।

यस्तै सबैभन्दा धेरै काठमाडौं उपत्यकामा मूल्यवृद्धि दर ८.४७ प्रतिशत पुगेको छ । तराईमा ७.८२ प्रतिशत, पहाडमा ७.३० प्रतिशत र हिमालमा ७.९२ प्रतिशत मूल्यवृद्धि छ ।

मौद्रिक नीतिले यो वर्ष मूल्यवृद्धि दर ७ प्रतिशतमा सीमित राख्ने लक्ष्य राखेको छ । पछिल्ला वर्षमा मौद्रिक नीतिको लक्ष्यभन्दा उच्च मूल्यवृद्धि दर कायम हुँदै आएको छ ।

यस्तै, चालु बर्षको पहिलो सात महिनामा शोधनान्तर स्थिति एक खर्ब ३३ अर्ब रुपियाँले बचतमा रहेको छ । गत बर्ष सोही अवधिमा दुई खर्ब ४७ अर्बले ऋणात्मक थियो । सो अवधिमा डलर संचिति एक अर्ब एक करोड रहेको छ । पहिलो सात महिनामा चालु खाता २९ अर्ब ६४ करोड घाटामा रहेको छ । अघिल्लो बर्ष सोही अवधिमा चालु खाता चार खर्ब ११ अर्ब घाटामा थियो ।

यस अवधिमा कुल वस्तु निर्यात २९ प्रतिशतले घटेको छ भने कुल वस्तु आयात १९.९ प्रतिशतले घटेको छ । समीक्षा अवधिमा ९३ अर्ब ४३ करोड रुपियाँको मात्रै निर्यात भएको छ । गत बर्ष सोही अवधिमा निर्यात ८८.३ प्रतिशतले वृद्धि भएको थियो । साथै, पहिलो सात महिनामा नौ खर्ब १९ अर्बको आयात भएको छ । गत बर्ष सोही अवधिमा आयात ४२.८ प्रतिशतले घटेको थियो ।

यस्तै, यो अवधिमा रू. छ खर्ब ८९ अर्ब ८८ करोड बराबरको विप्रेषण (रेमिट्यान्स) भित्रिएको छ । राष्ट्र बैंकले विवरण अनुसार विप्रेषण आप्रवाह २७.१ प्रतिशतले वृद्धि भएको हो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १६.४ प्रतिशतले वृद्धि भई ५ अर्ब ३० करोड पुगेको छ ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ५७.३ प्रतिशतले वृद्धि भई तीन लाख १४ हजार सात सय ६७ पुगेको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा १०.१ प्रतिशतले वृद्धि भई एक लाख ६७ हजार सात सय आठ बराबर पुगेको छ ।

समीक्षा अवधिमा खुद ट्रान्सफर २५.२ प्रतिशतले वृद्धि भई रु. ७ खर्ब ५९ अर्ब ११ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ३.७ प्रतिशतले घटेको थियो ।