स्ववियु निर्वाचन: कतै निर्विरोध त कतै भाँडभैलो

स्ववियु निर्वाचन: कतै निर्विरोध त कतै भाँडभैलो

कहिरन समाचार

काठमाडौँ । चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनका लागि पदाधिकारी चयनमा कतै निर्विरोध निर्वाचित त कतै भाँडभैलो मच्चिएको छ ।

स्ववियु निर्वाचनमा आंगिक तथा सम्बन्धन प्राप्त २७ क्याम्पसमा दलका नेता तथा विद्यार्थीको सहमतिमा पद बाडँफाँट गरि पदाधिकारी चयन भएको छ । स्ववियु निर्वाचनको मुखैमा काडमाडौं उपत्यका, पोखरा, मकवानपुर लगायत विभिन्न जिल्लाका केही क्याम्पसहरुमा भने भाँडभैलो भएको छ ।

अधिकांश क्याम्पसमा सत्ता गठबन्धन निकट विद्यार्थी संगठनबीचको तालमेलमा भद्रगोल देखिएको छ । काठमाडौं उपत्यकाका मात्रै २२ आंगिक तथा ६ सामुदायिक क्याम्पसमा कांगे्रस निकट नेविसंघ, माओवादी निकट अखिल क्रान्तिकारी र नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियुबीच भएको तालमेल कार्यन्वयनमा समस्या देखिएको हो । सबैभन्दा बढी विवाद नेविसंघमा देखिएको छ ।

नेविसंघका सभापति दुजाङ शेर्पाले मनपरी ढंगले पत्र पठाउँदै जिल्ला र इकाइ सभापतिहरू घोषित गरेको भन्दै असन्तुष्ट पक्षले आज केन्द्रीय कार्यालय घेराउ नै गरेका छन् । अनामनगरस्थित केन्द्रीय कार्यालयमा असन्तुष्ट पक्षले तालाबन्दी गर्नुका साथै सभापति शेर्पाको राजीनामा मागेका छन् । काठमाडौं जिल्ला सहसचिव निश्चल महर्जनले सभापति शेर्पाले आफूखुसी टिकट वितरण गरेका कारण स्ववियु निर्वाचन प्रतिकूल बनेको आरोप लगाए ।

निर्वाचनकै विषयमा विवाद हुँदा नेविसंघको असन्तुष्ट समुहले मकवानपुर बहुमुखी क्याम्पसमा तोडफोड गरी क्याम्पस परिसरमा टायर बालेरसमेत विरोध जनाएका छन् । स्ववियु निर्वाचन हुन लागेका धेरैजसो क्याम्पसमा नेविसंघका बागी उम्मेदवार खडा भएका छन् । नेविसंघ भित्रको विवादकै कारण आज पाटन संयुक्त क्याम्पस स्ववियु निर्वाचन समितिले सामुहिक राजीनामा दिएको छ ।

विवादका कारण उपत्यका भित्रका ७ र बाहिरका ७ क्याम्पसमा निर्वाचन प्रक्रिया रोकिएको छ । यस्तै, पोखराको पृथ्वीनारायण क्याम्पसमा भने चैत २ गतेसम्म स्ववियू निर्वाचन प्रक्रिया नै अगाडी बढाउन नपाउने भएको छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका अनुसार बिवादका कारण पाल्पा, चितवन, वीरगञ्जको ठाकुरराम, सिराहा, धौलागिरि क्याम्पस लगायतका क्याम्पसमा पनि निर्वाचन अनिश्चित बनेको छ ।

स्ववियु निर्वाचन अन्तर्गत हिजो उम्मेदवारी दिएका उम्मेदवारमाथिको दाबी बिरोध छानविन गरी आज साँझ नामावली प्रकाशन गरिएको छ । भोलि दिउँसो १ बजेसम्ममा उम्मेदवारले आफ्नो नाम फिर्ता लिने समय तोकिएको छ भने दिउँसो २ बजे अन्तिम नामावली प्रकाशन गर्ने तय भएको छ ।