नेपालले तिर्नुपर्ने सार्वजनिक ऋण वार्षिक बजेटको सीमाभन्दा माथि

नेपालले तिर्नुपर्ने सार्वजनिक ऋण वार्षिक बजेटको सीमाभन्दा माथि

कहिरन समाचार

काठमाडौँ । नेपालको कुल सार्वजनिक ऋण वार्षिक बजेटको सीमा भन्दा माथि रहेको छ । सरकारको चालु आर्थिक वर्षको संशोधित बजेट १५ खर्ब ४९ अर्ब ९९ करोड रहेकोमा नेपालले तिर्नुपर्ने सार्वजनिक ऋण नै २० खर्ब ७० अर्ब ५३ करोड ६३ लाख पुगेको छ ।

चालु आर्थिक वर्ष २०७९/८० को अर्धवार्षिक समीक्षा अवधिमा सार्वजनिक ऋण बढेको देखिएको हो । पुस मसान्तसम्म नेपालको बाह्य ऋण ११ खर्ब दुई अर्ब ५१ करोड र आन्तरिक ऋण नौ खर्ब ६८ अर्ब एक करोड पुगेको हो ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको दोस्रो त्रैमासिक अवधिको सार्वजनिक ऋण प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको ६ महीनाको अवधिमा ५७ अर्ब २४ करोड ऋण थपिएको छ । गत असार मसान्तसम्म कूल सार्वजनिक ऋण २० खर्ब १३ अर्ब थियो । जसमध्ये बाह्य ऋण रू १० खर्ब ५० अर्ब २३ करोड र आन्तरिक ऋण नौ खर्ब ५७ अर्ब ६१ करोड बराबर थियो ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिसम्ममा ७६ अर्ब ६६ करोड ९९ लाख बाह्य ऋण थपिएको छ । आन्तरिक ऋण भने गत असारको तुलनामा पुसमा १९ अर्ब ४३ करोडले घटेको छ ।

नेपालको कूल गार्हस्थ्य उत्पादन (जीडीपी) को तुलनामा सार्वजनिक ऋणको अनुपात ४२.६७ प्रतिशत बराबर पुगेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । अहिले कूल गार्हस्थ्य उत्पादन ४८ खर्ब ५१ अर्ब ६२ करोड बराबर छ । जीडिपी अनुपातमा आन्तरिक ऋण १९.९५ प्रतिशत र बाह्य ऋण २२.७२ प्रतिशत रहेको कार्यालयको तथ्याङ्कबाट देखिन्छ ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्म नेपालले ४७ अर्ब २७ करोड बराबर ऋण उठाएको छ । जसमध्ये ३० अर्ब आन्तरिक र १७ अर्ब २७ करोड बाह्य ऋण उठाएको हो ।

यही अवधिमा ४५ अर्ब ६१ करोड बराबर साँवा ब्याज भुक्तानी गरेको छ । पुस मसान्तसम्म सरकारले भुक्तानी गरेको साँवा २८ अर्ब ३० करोड र ब्याज १७ अर्ब ३१ करोड बराबर छ ।

यो अवधिमा आन्तरिक ऋणको साँवा १९ अर्ब ५९ करोड २५ लाख र ब्याज १५ अर्ब ६५ करोड ९६ लाख गरी कूल ३५ अर्ब २५ करोड रुपैयाँ भुक्तानी भएको छ भने बाह्य ऋणको साँवा आठ अर्ब ७१ करोड र ब्याज एक अर्ब ६५ करोड गरी १० अर्ब ३६ करोड भुक्तानी भएको छ । कूल साँवा ब्याज भुक्तानीमा आन्तरिक ऋणको साँवा ब्याज भुक्तानी ७७.२८ प्रतिशत र बाह्य ऋणको साँवा ब्याज भुक्तानी २२.७२ प्रतिशत बराबर छ ।