केही दिनमा समाजवादी मोर्चा बनाई कम्युनिस्ट एकता गर्छौ : प्रचण्ड

केही दिनमा समाजवादी मोर्चा बनाई कम्युनिस्ट एकता गर्छौ : प्रचण्ड

कहिरन समाचार

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”ले केही दिनमा समाजवादी मोर्चा बन्ने र त्यसको जगमा कम्युनिस्ट एकताको पहल गरिने बताएका छन् ।

शनिबार दिउँसो पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मधेश प्रदेशमा कार्यरत पार्टी केन्द्रीय सदस्यहरूको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले पहिला समाजवादी मोर्चा बनाउने र त्यसपछि कम्युनिस्टहरूको बृहत्तर एकताका निम्ति बहस सुरू गरिने बताए ।

“जनयुद्ध र जनआन्दोलनका मुद्धा सम्बोधन भइसकेका छैनन्, शान्ति प्रक्रिया टुंगोमा पुगिसकेको छैन” प्रधानमन्त्रीले भने, “शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायको सिद्धान्तका आधारमा राजनीतिक निकास दिने जिम्मेवारी हाम्रो काँधमा छ । यसका निम्ति समाजवादी शक्तिहरूको सहकार्य र एकता जरूरी छ ।”

प्रधानमन्त्रीले भने, “माओवादी धाराका कम्युनिस्ट घटकहरूबिच छलफल भइरहेको छ । शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायसम्बन्धि विषय सत्य निरूपण तथा मेलमिलापको माध्यमद्वारा टुंगो लगाउनुपर्छ भन्ने हाम्रो साझा मत छ । भोलि संयुक्त अपील गर्दैछौँ, पत्रकार सम्मलेन गर्दछौँ । केही दिनमा समाजवादी मोर्चा बन्छ ।”

“संसारमा एकपटक कम्युनिस्ट आन्दोलन पराजित भएपछि उठेर आएका बिरलै दृष्टान्त छन् । चाहे पूर्वी युरोप हेर्नुस्, चाहे पश्चिम बंगाल वा अन्य ठाउँको क्रान्ति हेर्नुस्, क्रान्तिले धक्का खाएपछि उठ्न कठिन हुन्छ । नेपालमा पनि हामी चुनौती र सम्भावनाको दोसाँधमा छौँ । बृहत्तर वामपन्थी एकतामार्फत् चुनौती छिचोलेर समाजवादको ढोका खोल्नुपर्छ” प्रधानमन्त्रीले भने ।

“समाजवादी मोर्चा बनेपछि त्यसले कम्युनिस्ट पार्टीहरूको एकताका निम्ति नयाँ आधार सिर्जना गर्नेछ, त्यसको पहल पनि हामी माओवादीहरूले नै लिनुपर्छ” प्रधानमन्त्रीले भने, “एमालेभित्र पनि ठूलो पंक्ति वामपन्थीहरूको एकताको पक्षमा छ । हिजोको नेकपा फेरि पुनर्स्थापित गर्नुपर्छ भन्ने मत पनि त्यहाँ छ । त्यो मत क्रान्तिको हितमा छ, कम्युनिस्ट आन्दोलनको हितमा छ । त्यसैले हामीले नै एकताको अग्रसरता लिनुपर्छ ।”

प्रधानमन्त्रीले नेता–कार्यकर्ता जनतामा गएर, उनीहरूको सुझाव लिएर आएपछि नयाँ ढंगले समीक्षा गर्ने र त्यसका आधारमा माओवादी केन्द्र अगाडि बढ्ने बताए ।